

धनगढी- प्रधानमन्त्री केपी शर्मा आलेले ‘धनगढी सभा गृह’ को उद्घाटन गर्ने भएका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभा गृहको प्रधानमन्त्री ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ३ बजे सभा गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले जनाएको छ । सहरी विकासका इन्जिनियर पुष्प भट्टले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरिने बताए ।




सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो । सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो । सहरी विकासले प्रधानमन्त्री ओलीमार्फत धनगढी उपमहानगरपालिकालाई सञ्चालनको लागि आइतबार सभा गृह हस्तान्तरण गर्दै छ। सभा गृह सञ्चालनका लागि आवश्यक फर्निचर लगायतका उपकरण जडान नभएको भन्दै उपमहानगरपालिकाले बुझ्न मानिरहेको थिएन ।
सभा गृह सिटी हल बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ। सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ।
दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ। सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ । सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो ।

