पेश्की १ करोड पचाएको ‘कामचोर ठेकेदार’ : वडाध्यक्ष साउँदको आन्दोलन पछाडि यस्तो रहस्य

कामचोर ठेकेदारको बचाउमा आन्दोलनको नाटक रचेको खुलासा भएको छः वडाध्यक्ष साउँद

कञ्चनगर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुनसिंह साउँदले फागुन ११ गते एउटा सूचना प्रकाशित गरे, जसमा लेखिएको थियो – बंक–दोमिल्ला सडक कालोपत्रेका लागि दबाब दिन आन्दोलन स्वरूप फागुन १८ गते आईतबारदेखि बंक–नाइल सडकखण्ड अन्तर्गत प्रारम्भिक बिन्दुमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह गरिने ।’

वडा कार्यालयको सूचना अनुसार वडाध्यक्ष साउँद बंकमा अस्थायी वडा कार्यालय राखेर नै बसे । कालोपत्रे गराउन पूर्वाधार विकास कार्यालय कञ्चनपुर र निर्माण व्यवसायीलाई खबरदारी गर्न उनले रचनात्मक आन्दोलन गरेको भन्दै सामाजिक सञ्जालमा उनको प्रशंसा भयो । तर उनले ‘कामचोर ठेकेदार’को बचाउमा आन्दोलनको नाटक रचेको खुलासा भएको छ ।

फागुन २२ गते बिहीबार उनले आन्दोलन फिर्ता लिए । आफूले आन्दोलन गरेर सडक कालोपत्रे हुने भएको भन्दै उनले आन्दोलन स्थगित गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैको जनदबाब, मिडियाको निरन्तर खबरदारी, कार्यालयको ताकेता र जनप्रतिनिधिको सडक संघर्षका कारण सम्बन्धित निर्माण व्यवसायीले संघर्ष सुरु भएकै दिनदेखि नै सडकमा कालोपत्रेका लागि बेस हाल्ने कार्य सुरुवात गरेको जानकारी गराउँदै चैत्र २० गतेसम्म सम्पूर्ण बेस मेटेरियल तयार गर्ने र चैत्र २१ गतेदेखि सडक कालोपत्रे कार्य सुचारु गर्ने प्रतिबद्वता जनाएको छ । साथै सडक कालोपत्रे कार्य बंक क्याम्पस चोकदेखि सुचारु भएर दोमिल्ला नपुगुञ्जेलसम्म हाम्रो निरन्तर खबरदारी र सुपरिवेक्षण रहिरहने जानकारी गराउँदै भोलिदेखि वडा कार्यालयका सम्पूर्ण कामकाजहरू वडा कार्यालय वाणीबाट सञ्चालन हुने समेत जानकारी गरिन्छ ।’

यससँगै वडाध्यक्ष साउँदले सन्तोषी थेगिम जेभीको प्रतिबद्धतापत्र पनि राखेका छन्, जसमा पूर्वाधार कार्यालय कञ्चनपुरलाई सम्बोधन गरिएको छ । प्रतिबद्धता पत्रमा लेखिएको छ, ‘कृष्णपुर नगरपालिका अन्तर्गत त्यस क्षेत्रका जनताले निर्माण कार्य अतिशीघ्र रूपमा सञ्चालनमा ल्याई सम्पूर्ण निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी सो रोड सञ्चालनमा ल्याउन माग भए बमोजिम त्यस क्षेत्रका जनप्रतिनिधि, बुद्धिजीवी तथा अन्य भद्र भलादमीका मागलाई पूरा गर्नका लागि यस जेभी कम्पनीले यहीँ आउँदो २०८१ चैत २० गतेसम्म त्यस निर्माण कार्यको बजेट उपलब्धता अनुसार वेश मेटेरियल जम्मा गर्ने तथा वेश फाइनल गर्ने र २०८१ चैत २१ गतेदेखि सडक कालोपत्रे गर्न सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

गोप्य राखिएको यस्तो रहस्य !

बंक–दोमिल्ला सडक र कलुवापुर–बन्साह सडकको ठेक्का लिएको निर्माण व्यवसायी सन्तोषी थेगिम जेभीको कार्यशैली ‘कामचोर’ प्रवृत्तिको छ । ठेकेदारको लापरवाही देखेपछि पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सन्तोषी थेगिम जेभीलाई ताकेता गर्दै २०८१ असोज ७ गते पत्र लेख्यो । पत्रमा भनिएको छ, ‘ठेक्का सम्झौता म्याद थप गरिएकोमा हालको कार्यप्रगति म्याद थपका बखत पेश गरिएको ‘रिभाइज्ड वर्क सेड्युल’ बमोजिम नदेखिएकोले के कति कारणले वर्क सेड्युल बमोजिम कार्यप्रगति हुन नसकेको हो ? लिखित कारण ७ दिनभित्र पेश गर्न अनुरोध छ ।’

त्यसपछि मिति २०८१ पुस १ गते कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारी र सन्तोषी थेगिमका प्रतिनिधि हरिहर पन्तको उपस्थितिमा भएको बैठकले बंक पहरिया सडकको बंकदेखि ४ किलोमिटरसम्मको खण्डमा सबबेसको काम १ हप्ताभित्र सुरु गर्ने तथा बाँकी बेसको काम माघ मसान्तभित्र सक्ने निर्णय गरियो । साथै सो कार्य समयभित्र नगरेमा एपीएन र ठेक्का तोड्ने प्रक्रियामा जान सकिने गरी सहमतिमा निर्णय गरियो ।’

ठेकेदार कम्पनीले १ करोड ३२ लाख ५४ हजार रुपैयाँ पेश्की रकम लिएर काम नगरेको, काममा ढिलासुस्ती गरी सम्झौताको म्याद गुजारेको, थप भएको म्यादभित्र पनि कार्ययोजनाअनुसार काम नगरेको र पुनः ताकेता गर्दा पनि ढिलासुस्ती कायमै राखेको अवस्थामा वडाध्यक्ष साउँद मौन थिए । तर उनी एकाएक आन्दोलनमा त्यतिबेला होमिए, जतिबेला पूर्वाधार कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढायो ।

पुस १ गतेको लिखित सहमति पनि कार्यान्वयन नभएपछि पूर्वाधार कार्यालयले माघ २५ गते सन्तोषी थेगिमलाई सोध्यो, ‘खरिद सम्झौता किन अन्त्य नगर्ने ?’ कार्यालय र ठेकेदार कम्पनीबीच २०७७ साउन २० गते भएको ठेक्का सम्झौता तोड्ने मनस्थितिमा कार्यालय पुगिसकेको थियो, किनकि सन्तोषी थेगिम जेभीले सहमति र प्रतिबद्धताअनुसार काम गरिरहेको थिएन ।

सम्झौता अन्त्य गर्ने भन्दै कार्यालयले लेखेको पत्रमा भनिएको छ, ‘बंक पहरिया दोमिल्ला सडकको कार्यप्रगति निराशाजनक रहेको, संशोधित कार्ययोजना बमोजिम निर्माण कार्य नभएको हुँदा पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत अटेर गरी कार्यप्रगति गर्नेतर्फ ठोस पहल नचालिएको हुँदा यस्तो अवस्थामा सम्पूर्ण निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुन नसक्ने र जीसीसी ७२ बमोजिम ‘फन्डामेन्टल ब्रीच अफ कन्ट्रयाक्ट’ भएकाले खरिद सम्झौताको शर्त जीसीसी ७२ बमोजिम खरिद सम्झौता अन्त्य किन नगर्ने ? नगर्नुपर्ने कुनै मनासिब कारण भएमा कारण भएमा ७ दिनभित्र लिखित स्पष्टीकरणसहित आधिकारिक प्रतिनिधि स्वयं उपस्थित हुन अन्तिम पटक ताकेता गरिएको छ । समयमै मनासिब कारणसहित उपस्थित नभएमा तथा कार्यप्रगति गर्नेतर्फ ठोस पहल नचालिएमा खरिद सम्झौताका शर्त, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गरिने व्यहोरा जानकारी गराइन्छ ।’

ठेक्का सम्झौता नै अन्त्य गर्ने गरी माघ २५ गते कार्यालयले पत्र लेखेपछि ठेकेदार कम्पनी सरकारी प्रक्रिया रोकेर ठेक्का अन्त्य हुन नदिने योजनामा लाग्यो । त्यसैबीच झुल्किए वडाध्यक्ष साउँद । ठेकेदार कम्पनीको प्रतिबद्धता पत्र र वडाध्यक्ष साउँदले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसबाट पनि उनीहरूबीच अदृश्य सम्बन्ध रहेको देखिन्छ । वडाध्यक्ष साउँदले आन्दोलन स्थगित गर्दै लेखेको स्ट्याटसमा भनेका छन्, ‘जनप्रतिनिधिको सडक संघर्षका कारण सम्बन्धित निर्माण व्यवसायीले संघर्ष सुरु भएकै दिनदेखि नै सडकमा कालोपत्रेका लागि बेस हाल्ने कार्य सुरुवात गरेको ।’ वडाध्यक्ष साउँदको आन्दोलन सुरु हुनु र ठेकेदारले सोही दिन काम थाल्नु संयोग मात्रै थियो कि योजनाबद्ध थियो ? प्रश्न उब्जिन्छ ।

अर्काेतिर ठेकेदार कम्पनीको प्रतिबद्धतामा ‘त्यस क्षेत्रका जनप्रतिनिधि, बुद्धिजीवी तथा अन्य भद्र भलादमीका मागलाई पूरा गर्नका’ कालोपत्रे सुरु गर्ने भनेर लेखिएको छ । ठेक्का सम्झौता गरी पेश्की लिएको ठेकेदारले स्वस्फूर्त काम गर्ने हो कि जनप्रतिनिधिले माग र आन्दोलन गरेपछि मात्रै कालोपत्रे गर्ने हो ? यसरी वडाध्यक्ष र ठेकेदार दुवैले एकअर्कालाई श्रेय दिने र ठेक्का अन्त्य गर्ने सरकारी प्रक्रियालाई अवरुद्ध गर्ने प्रयास गरेका छन्। पूर्वाधार कार्यालय र ठेकेदार कम्पनीका प्रतिनिधिबीचको छलफलको वातावरण पनि वडाध्यक्ष साउँदले नै मिलाएर प्रतिबद्धता सार्वजनिक गराएका छन्, त्यसबारे वडाध्यक्ष साउँदले छलफलको तिथिमिति नै तोकेर फेसबुकमा पहिल्यै सार्वजनिक गरेका थिए । ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको भनिएको बैठकको फोटोमा महेन्द्रनगरमा सक्रिय देखिने केही विद्यार्थी नेताहरू देखिएका छन् ।

वडाध्यक्ष साउँद कामचोर ठेकेदारको बचाउमा देखिए पनि पूर्वाधार कार्यालयले वडाध्यक्षको आन्दोलन र ठेकेदारको प्रतिबद्धतालाई पूरै पत्याएको छैन । पूर्वाधार कार्यालयले ठेकेदार कम्पनीमाथिको कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

फागुन २२ गते बिहीबार पूर्वाधार कार्यालय कञ्चनपुरले प्रभू बैंक लिमिटेड धनगढीलाई पत्राचार गर्दै सन्तोषी थेगिम जेभीको अग्रिम भुक्तानी जमानत रकम १ करोड ३२ लाख ५४ हजार रुपैयाँ उपलब्ध गराउन भनेको छ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले निर्माण व्यवसायीले काममा लापरवाही गरेकाले ठेक्का तोड्ने प्रक्रियाका लागि निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको स्पष्ट पारे । ‘निर्माण कार्यका लागि पटक–पटक ताकेता गर्दा पनि योजनाको प्रगति हुन सकेको छैन,’ उनले भने ।

बिहीबार निर्माण व्यवसायीले कार्यालयमै आएर तत्काल निर्माण कार्य तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएको छ। सहमतिअनुसार चैत २० गतेभित्र बेसको काम सक्ने र कालोपत्रे सुरु हुने भनिएको छ । तर ठेकेदारले काम गर्नेमा कार्यालयलाई विश्वास नलागेकाले अग्रिम भुक्तानी (पेश्की) जमानत रकम फिर्ता गरिएको उनले बताए । ‘ठेकेदारलाई योजना मुभिलाइजेन खर्चबापत पेश्की रकम १ करोड ३२ लाख ५४ हजार बैंकलाई पठाइएको थियो । तर ठेकेदारले काम नगरेपछि पेश्की बापतको रकम कार्यालयले तानेको हो,’ उनले भने ।

अब ठेकेदारले निर्माणमा गरेको प्रगतिको मूल्यांकनपछि मात्रै बजेट निकासा हुने कार्यालयले जनाएको छ । चैत २० गतेसम्ममा सहमतिअनुसार निर्माण कार्य नभए ठेक्का तोक्ने प्रक्रिया पुनः अगाडि बढ्ने कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस कृष्णपुर २ नम्बर वडा उपसभापति गोपाल भारतीले वडाध्यक्ष साउँदले स्टन्टबाजी गरेको आरोप लगाए । ‘ठेकेदारले काम नगरेको अवस्थामा ठेक्का तोड्ने भएपछि वडाध्यक्षले देखाउनका लागि राजनीतिक रङ्ग दिएका हुन्,’ उनले भने ।

स्थानीय प्रकाश नाथले वर्षाैंसम्म काम नगर्ने ठेकेदारलाई कारवाही हुनुपर्नेमा उसलाई जोगाउने गरी नयाँ प्रतिबद्धताको नाटक रचिएको आरोप लगाए । ‘ठेकेदार काम गर्ने खालको छैन,’ उनले भने, ‘ठेकेदारलाई कारवाहीबाट जोगिन नयाँ सहमति र प्रतिबद्धता गराइएको जस्तो देखिन्छ ।’

कामचोर ठेकेदारको पटक–पटकको जालझेललाई निरन्तरता दिन सहयोग पुग्ने आन्दोलन गरेका वडाध्यक्ष साउँद निर्माण कार्यमा ढिलासुस्ती हुँदा सडक आन्दोलन थालिएको बताउँछन् । उनले भने, ‘निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाएको छ । पहिलो शर्त तत्काल सडक कालोपत्रे हुनुपर्ने माग हो । अहिले सडकमा बेस फाल्ने काम भइरहेको छ । निर्माण कार्यको अनुगमन र खबरदारी गरिराख्छौं ।’

कलुवापुर–बन्साह सडकमा पनि सोही ठेकेदार कम्पनीले स्थानीयले आन्दोलन गर्दा र सम्झौताको म्याद नवीकरण गर्नुपर्ने बेलामा मात्रै काम गरे जस्तो देखाउने र पछि पेश्की रकम लिएर गायब हुने प्रवृत्ति देखाउँदै आएको छ । कलुवापुर–बन्साह सडकको एकापट्टि आंशिक खण्ड कालोपत्रे गरेर अर्काेपट्टि अलपत्र छाडेर सन्तोषी थेगिम फेरि गायब भइसकेको छ । काठमाण्डु पाटीबाट

Loading...