

अत्तरिया- त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सरगर्मी बढेको छ । स्ववियु चुनाव नजिकदै गर्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कैलालीमा चुनाव हुने १२ वटा क्याम्पसहरूमा चुनावको माहोल तातेको हो ।


मुख्य गरी विद्यार्थी संगठनहरूले संगठन दर्ता गरेसँगै क्याम्पसहरूमा आफ्नो उपस्थिति बढाएका छन् । कसरी आफ्ना उम्मेदवारलाई जिताउने त्यसै रणनीतिमा अहिले विद्यार्थी संगठनहरू लागेका देखिन्छन् । कैलाली जिल्लामा १२ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउँदो चैत ५ गते हुने गरी तयारी अगाडि बढेको छ ।




कैलालीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने ऐश्वर्या बहुमुखी क्याम्पस धनगढी, फुलबारी बहुमुखी क्याम्पस धनगढी, बिरेन्द्र विद्यामन्दिर क्याम्पस टिकापुर, लम्की बहुमुखी क्याम्पस लम्की, रघुनाथ आदर्श बहुमुखी क्याम्पस जोशीपुर, मोहन्याल बहुमुखी क्याम्पस भजनी, घोडाघोडी बहुमुखी क्याम्पस घोडाघोडी, राष्ट्रिय कलेज घोडाघोडी, बुलबुले बहुमुखी क्याम्पस घोडाघोडी, चौमाला बहुमुखी क्याम्पस गौरीगंगा, खप्तड बहुमुखी क्याम्पस गौरीगंगा र बर्दगोरिया बहुमुखी क्याम्पस बर्दगोरिया गरी १२ वटा क्याम्पसहरूमा चुनावको सरगर्मी बढेको छ ।
यी क्याम्पसहरूमा विशेषगरी नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (समाजवादी) ले १२ वटै क्याम्पसहरूमा आफ्ना संगठनहरू दर्ता गरेका छन् । भने केही क्याम्पसहरूमा अन्य विद्यार्थी संगठन र स्वतन्त्र समूहले पनि संगठनहरू दर्ता गरी चुनावको तयारीमा लागेका छन् । नेपाल विद्यार्थी सङ्घ कैलाली जिल्लाका अध्यक्ष मनिष कुँवरले नेविसंघ चुनाव हुन लागेका १२ वटै क्याम्पसहरूमा चुनाव लड्ने बताए ।
त्यस्तै अनेरास्ववियुका जिल्ला अध्यक्ष कुबेर खड्काले अनेरास्ववियुले १२ वटै क्याम्पसहरूमा संगठन दर्ता गरेको जानकारी दिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तपेन्द्र शाहले पनि अखिल क्रान्तिकारीले १२ वटै क्याम्पसहरूमा संगठन दर्ता गरेको जानकारी दिए । अनेरास्ववियू (समाजवादी) ले पनि १२ वटै क्याम्पसहरूमा संगठन दर्ता गरेको जिल्ला उपाध्यक्ष धनराज जोशीले जानकारी दिए ।
संगठन दर्ता गरिसकेपछि उम्मेदवार टुङ्गो लगाउनमा संगठनहरू व्यस्त देखिन्छन् । साथै टिकट माग्नको लागि विद्यार्थी नेताहरुको दौड धुप पनि त्यस्तै चलेको छ ।

