दिनदहाडै खुकुरी प्रहार : अत्तरियामा बढ्यो सुरक्षा चुनौती

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारी माथि दिनदहाडै खुकुरी प्रहार हुनुले सुरक्षा चुनौती थपिएको छ ।

अत्तरिया नोलाइटका इन्चार्ज सुनिल खड्काले सुरक्षा चुनौती थपिएको बताए । “घटनाको कारण अनुसन्धानले बताउला, तर अब हामीलाई यहाँ बस्न र काम गर्न गाह्रो छ,” उनले भने ।

बिहीबार बिहान करिब ११ बजे विद्युत प्राधिकरण अत्तरिया नोलाइटका प्राविधिक सुन्दरलाल चौधरीमाथि कार्यालय परिसरमै खुकुरी प्रहार गरिएको हो । मोटरसाइकलमा आएका ६ जनाको समूहले चौधरीलाई आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

गम्भीर घाइते चौधरीलाई सुरुमा अत्तरियाको पद्मा अस्पताल, त्यसपछि धनगढीको माया मेट्रो अस्पताल, सेती प्रादेशिक अस्पताल हुँदै बेलुकी ६ बजेको उडानमार्फत काठमाडौं पठाइएको छ ।

घटनाको बेला चौधरी सहायक लेखापाल रामनारायण राना, प्राविधिक मोहन सार्की, र कार्यालयका सुरक्षा गार्ड शेरबहादुर बोहरासँग गेटबाहिर सडक छेउमा बसिरहेका थिए । त्यही क्रममा तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूह अचानक रोकियो । पछाडि बसेका तीनजना ओर्लिए, जकेट भित्रबाट खुकुरी निकाले र बीचमा बसेका चौधरीलाई आक्रमण गरे ।

खुकुरी प्रहारपछि चौधरीको टाउकोको केहि भाग कपाल सहित भुइँमा खसेको थियो । छेउमा रहेका कर्मचारी भागे, तर आक्रमणकारी १५ सेकेन्डमै फरार भए ।

आक्रमणपछि विद्युत प्राधिकरणका कर्मचारीहरू त्रसित बनेका छन् । कार्यालय परिसरमै भएको यस घटनाले उनीहरू असुरक्षित महसुस गरिरहेका छन् । बाख्रा मारेजस्तो मान्छे माथि आक्रमण हुन थाल्यो, अब काम गर्न गाह्रो भएको सुरक्षा गार्ड शेर बहादुर बोहराले बताए ।

Loading...