धनगढी- कैलालीमा जंगली जनावर मार्न थापेको धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका-१ को मौवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।
उक्त घटनामा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनीहरू विरूद्व ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बोहराले बताए । धरापमा परेर घाइते भएका चौधरी भने उपचारपछि घर फर्किसकेका छन् ।