दार्चुला- दार्चुलाको व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमवार राति व्याँस गाउँपालिका वडा नम्बर ३ गल्थामा सुपप्र ०१–००१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
गल्था बस्ने एम्बुलेन्स चालक बिरा डडाल घर जाने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा चालक घाइते भएका छन् भने एम्बुलेन्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
घटनापछि चालक डडाललाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार गरिएको थियो । थप उपचार र जाँचका लागि उनलाई भारतको पिथौरागढ पठाइएको छ। दुर्घटना दार्चुला-टिकर सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।
यो दुर्घटनाले व्याँस गाउँपालिकाको स्वास्थ्य सेवामा गम्भीर असर पारेको छ। यसले स्थानीय सडक सुरक्षा र यातायात व्यवस्थापनको आवश्यकता माथि थप ध्यानाकर्षण गराएको छ ।