

धनगढी- कैलालीको धनगढीमा यही पुस १४ गतेदेखि १६ गतेसम्म प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनको तयारी ९० प्रतिशत पूरा भइसकेको र बाँकी १० प्रतिशत तयारी दुई दिन भित्रै सकिने आयोजकले जनाएको छ ।




प्रतियोगिताको उदेश्य उसु खेलाडी स्वर्गीय निता खड्का प्रतिको सम्मान,निजका आमाबुवा,घरपरिवार र समाजमा परेको दुःख र शोक कम गराउने प्रयास,शोकाकुल परिवारका लागि हामी पनि साथमै छौँ भन्ने सन्देश दिने रहेको संघका कार्यबाहक अध्यक्ष राजीव गुप्ताले जानकारी दिए ।
प्रतियोगिताबाट खेलकुद क्षेत्रमा लागेका छोराछोरीका अभिभावकलाई राष्ट्रले पनि सम्मान गरी रहन्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । प्रतियोगितमा तीन विभागीय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी) र सात प्रदेशका सात टिम गरी १० टिमको सहभागिता हुने उनले जानकारी दिए ।
प्रतियोगितामा सान्सौं (सान्दा) विधा मात्र सञ्चालन गरिने जनाइएको छ । सिनियर र जुनियर गरी १ सय ९६ खेलाडी रहने र १ सय ८ पुरुष तथा ८८ महिला रहने अध्यक्ष गुप्ताले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिव रु.४८ लाख २५ लाख ७५० लाग्ने तथा खेल सामग्री खरिद सहित प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले रु.२० लाख विनियोजन गरेको र बाँकी केही रकम विभिन्न संघसंस्थाहरुबाट उठ्ने अनुमान गरिएको अध्यक्ष गुप्ताको भनाइ छ । प्रतियोगिता धनगढीको खुला मञ्चसँगै रहेको कर्मचारी संचय कोषको खुला मैदानमा हुने जनाइएको छ ।

