धनगढी- कैलालीमा युवकलाई अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
युवकलाई अपरहरण गरेको आरोपमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी पक्राउ परेका हुन् ।
उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाँझो घरमा बन्धक बनाएर कुटपिट गरेका थिए ।
बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय र केदारस्युँ गाउँपालिका–६ का १७ वर्षीय किशोर कुटपिटमा परेका थिए । दुवै जनालाई आइतबार साँझ धनगढी स्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाँझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले बताएको छ ।
कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले दुबै जना किशोरलाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिएको छ ।
सोही समूहले एक हप्ताअघि गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा पुगाएर कुटपिट गरेको थियो ।
विवाहमा विवाद भएको निहुँ पारेर पक्राउ परेका मध्येका विवेक खड्काकै समूहले शाहीलाई अत्तरियाबाट अपहरण गरि शिवपुरी जंगलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गरेका थिए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।