
बैतडी- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले सिद्धार्थ बैंक नेपाल प्रिमियिर लिग (एनपीएल) नेपाली क्रिकेटको इतिहासमा कोशेढुंगा सावित हुने बताउनुभयो ।

धनगढीमा एनपीएलको टोली सुदूरपश्चिम रोयल्सको र्यालीपश्चात आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटरहरुको सपना एनपीएल प्रतियोगिता निकट भविष्यमै सम्पन्न हुन लागेको बताउनुभयो ।

उहाँले भन्नभयो,“ हरेक नेपाली युवा र नेपाली क्रिकेटरहरुको सपना एनपीएल निकट भविष्यमै सम्पन्न हुँदैछ। हरेक नेपालीले जुनखालको हौसला,समर्थन,माया र उत्साह छ । यसले नेपाली क्रिकेटको इतिहासमा एनपीएल कोशेढुंगा सावित हुने निश्चित छ । यसबाट नेपाली क्रिकेटले नयाँ युग प्रारम्भ हुनेछ । ”
यसका साथै यु १९ वर्षमूनीको महिला टोली विश्वकपमा पुगेकामा बधाई दिदैं अध्यक्ष सुदूरपश्चिम प्रदेश सरकारलाई खेलाडीको हौसला र सम्मान गर्न पुरस्कारको घोषणा गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का खेलाडी उत्पादन र क्षमता अभिवृद्धिका लागि एनपीएलले सघाँउने बताउनुभयो । प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै निकट भविष्यमा नै खेल र खेलाडीका लागि विषेश कार्यक्रम ल्याइने बताउनुभयो ।
सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले सुदूरपश्चिम प्रदेश खेलक्षेत्रमा एकनम्बरमा रहेको बताउदैं यो परिचय एनपिएलबाट झनै बढ्ने उद्घोष गर्नुभयो । सबैले आ आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले टिमलाई समर्थन गर्ने सम्पूर्ण धन्यवाद दिदै एनपीएलको ट्रफी सुदूरपश्चिममा नै आउने बताउनुभयो ।
कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउनुभयो ।
सुदूरपश्चिम रोयल्सले धनगढी चौराहादेखि र्याली गरी रंगशालामा समापन कार्यक्रमको कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाल क्रिकेट संघ,प्रादेशिक क्रिकेट संघमा आवद्ध विभिन्न व्यक्तित्व,रोयल्सको अफिसियल र खेलाडी, विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधि,क्रिकेट समर्थकलगायतको उपस्थिती रहेको थियो ।
नेपाल क्रिकेट संघको आयोजनामा एनपीएल क्रिकेट प्रतियोगिता यही मङसिर १५ गतेदेखि काठमाडौंमा हुँदैछ ।