मालाखेती बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- मालाखेती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चौकीडाँडा कैलालीले आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले शुक्रबार चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिको हलमा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष देव राज भट्ट सभापतित्वमा भएको कार्यक्रममा गोनपा ३ का वडा अध्यक्ष तेजराज अवस्थी प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिहरूमा गोनपा सहकारी शाखा प्रमुख दिव्यराज जोशी, वडा नम्बर ३ का निवर्तमान अध्यक्ष जयबहादुर बोहरा रहेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकै सचिव दिल्लीराज जोशीले गरे भने स्वागत मन्तव्य संस्थाका सदस्य प्रकाश शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिले संस्था हरेक वर्ष प्रगति गरिराखेको स्थानीय सञ्चालक समितिहरू तथा कर्मचारीहरू भएकोले कसैको पैसा नडुब्ने बताउनुभयो । अध्यक्ष देवराज भट्टले संस्थाले छिटै नै कृषि एम्बुलेन्स खरिद गर्ने र धितोमा ठूलो ऋण दिने सुविधाहरू ल्याउने बताउनुभयो । यस संस्थामा कुल सेयर सदस्य ६ सय ३१ र ७ जना कर्मचारीहरू रहेका छन् ।

यस संस्थाले १ करोड ३१ लाख २५ हजार ६२ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । संस्थाको सेयर रकम ३२ लाख ६१ हजार ५ सय रहेको छ । गत वर्षको खुद मुनाफा ६४ लाख ४० हजार ४९ र यस वर्षको खुदनाफा १ लाख ६५ हजार ३ सय ५९ रहेको छ ।

कुल आम्दानी तर्फ गत वर्ष ४० लाख २७ हजार १ सय ९५ र यस वर्ष ४६ लाख ८४ हजार ५ सय १३ रहेको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता असल ऋण उत्कृष्ट उद्यमी साथै उत्कृष्ट समूहहरूलाई पनि सम्मान गरिएको थियो ।

Loading...