‘इन्डियन आइडल–१२’ को विजेता पवनदीप बने
चर्चित भारितय रियलिटी शो ‘इन्डियन आइडल–१२’ को अन्तिम छिनोफानो भइसकेको छ । १२ औं संस्करणको यो प्रतियोगिताबाट पवनदीप राजन शीर्ष विजेता बनेका छन् । आइतबार राती यसको अन्तिम नतिजा आएको थियो । मध्यन्ह १२ बजेदेखि राती १२ बजेसम्म ग्रान्ड फिनाले चलेको थियो । प्रतियोगितामा कसले बाजी मार्छ ? दर्शकमा कौतुहलता थियो ।




यस संस्करणमा पवनदीप राजनलाईै अरुणिता कान्जीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेले कडा चुनौती दिएका थिए । अन्ततः सबै प्रतियोगीलाई उछिन्दै पवनदीपले बाजी मार्न सफल भएका थिए ।


‘इन्डियन आइडल’मा सहभागी भएर अत्याधिक चर्चा पाउनेमध्ये उनीपनि एक हुन् । प्रतियोगितामा उनले सर्वत्र तारिफ र माया बटुले । उनलाई एक एपिसोडमा बपी लाहिडीले सुनको चेन उपहार दिएका थिए भने हिमेश रेशमियाले १० वटा गीतका लागि अफर गरेका थिए । यसपाली अतिथीको निर्णयकको रुपमा उदित नारायण, कुमार सानु, अलका याग्निक उपस्थित भए । अतः पवनदीपले ९० को दशकको गीत गाएर सबैको मन पगाले ।
भारतिय पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पवनदीपको गीतबाट आफु निकै प्रभावित भएको बताएका थिए । यसैगरी उत्तराखन्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पनि पवनदीपको गायनको तारिफ गरेका थिए । उनले एक भिडियो सन्देशमा भनेका थिए, ‘पवनदेवले यो देवभूमीको नाम अरु उज्यालो बनाएका छन् । उनको प्रतिभामा हामीले गर्व गर्नुपर्छ ।’

