सार्वजनिक चौतारा संरक्षण गर्दै धनगढी उपमहानगर

अत्तरिया- कैलाली धनगढीमा सार्वजनिक चौताराहरु रङरोगनसहित चिटिक्क पारेर संरक्षण गरिन थालिएको छ । विकासका नाममा होस या संरक्षण नहुँदा सार्वजनिक चौताराहरु नाश हुँदै जान थालेपछि यसको संरक्षणमा धनगढी उपमहानगरपालिका जुटेको हो ।

मानवजीवनका लागि चौतारा आवश्यक महसुस गरी रङरोगनसहित चिटिक्क पारेर संरक्षणको अभियान थालिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक चौतारामा झार उखल्ने, भत्केका पाटी मर्मत गर्ने र रङरोगन गर्ने अभियान नै सञ्चालन गरी पहल थालेपछि धनगढीका चौतारा पुनः सफा र चिटिक्क भई बस्नलायक भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

धार्मीकरुपमा पनि महत्वपूर्ण मानिएको बरपिपलका चौतारालगायतका चौताराहरु विस्तारै नासिँदै जान थालेकोमा यहाँका बुढापाका चिन्तित थिए । धनगढी उपमहानगरपालिकाले पछिल्लो समय संरक्षण अभावमा अस्तित्व संकटमा पर्दै गएका सार्वजनिक चौताराका संरक्षण गर्ने अभियान थालेपछि उनीहरु खुसी भएका छन्।

बाटो हिँड्दा, थकाइ लाग्दा थकाइ मेटाउन, भारी बिसाउन, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरे पनि हाल त्यसतर्फ चासो कमी हुदै गएका कारण चौतारा संरक्षणबिहीन हुदै गएका थिए धनगढी उपमहानगरपालिकाले पछिल्लो समयमा चौताराको झार सफा गरी रङरोगन गरेर चिटिक्क पारेपछि आफूहरुजस्ता पाको उमेरका बृद्धहरुलाई चौतारामा बसेर सुखदुख साट्न सजिलो भएको धनगढीको पार्कमोडको चौतारामा बसेका ७५ वर्षीय जयराज जोशीले बताए ।

Dadeldhura hospital

उनले चौतारा सबैको साझा थलो भएकोले उपमहानगरपालिकाले मात्र नभएर सबैले आ आफ्नो गाउँठाउँमा रहेका चौताराको सरसफाई गरेर संरक्षण गर्नुपर्ने बताए । भने, आफूजस्ता काम गर्न नसक्ने अवस्था भएकाहरुको सार्वजनिक चौतारा दिन कटाउने र सुखदुख साट्ने प्रमुख थलो हुन् ।

धनगढी नगर प्रहरी बलले सार्वजनिक चौतारा वरिपरिको झाडी फाँड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने र रङरोगन गरेर चौतारामा सबैले देखिने ठाउँमा आपतकालिन सेवाहरुका लागि नगर प्रहरीको सम्पर्क नम्बर, दमकल सेवाको सम्पर्क नम्बर तथा निःशुल्क टोल फ्री नम्बर समेत लेख्ने काम गर्दै आएको छ ।

हालसम्म ४८ वटा चौतारामा रङरोगन तथा सरसफाई गरेको धनगढी नगरप्रमुख गोपाल हमालका स्वकीय सचिव सुरेन्द्रप्रसाद भट्टले बताए । नगर प्रहरी बलले तिहारसम्म नगरका सबै सार्वजनिक चौताराको सरसफाई र रङरोगन गरी चिटिक्क पारेर संरक्षण गर्ने लक्ष्य रहेको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।

उनले सफा धनगढी, सुन्दर धनगढी अभियान अन्तर्गत सार्वजनिक चौताराहरूलाई बस्न र हेर्न लायक बनाउन थालिएको बताए । धनगढी नगर प्रहरी प्रमुख धर्मानन्द जोशीकाअनुसार तिहारसम्म १९ वटै वडाका सम्पूर्ण चौतारामा रङरोगन गरिसक्ने गरी काम भइरहेको छ । हालसम्म उपमहानगरपालिकाको वडा नम्बर १ मा एक, वडा नम्बर २ मा ५, वडा नम्बर ३ मा ६ वटा चौताराको सरसफाई गरी रङरोगन गरिएको छ ।

त्यस्तै, ४ नम्बर वडामा मुख्यमन्त्री कार्यालय अगाडिका चौतारासहित थप ३ चौतारा, वडा नम्बर ५ मा ४ वटा, वडा नम्बर ६ र ७ मा ३/३ वटा चौतारा आकर्षक बनाइएको छ । उपमहानगरले ८ नम्बर वडामा २, ९, १० र ११ नम्बरमा थप १/१, चौतारा, वडा नम्बर १३ मा ३ वटा, वडा नम्बर १४, १५, १६, १७ र १८ मा १/१ वटा तथा वडा नम्बर १९ मा चारवटा सार्वजनिक चौताराहरूमा रङरोगन लगाउने काम पूरा भएको छ ।

‘नगर प्रहरीले नगर क्षेत्रका सार्वजनिक चौतारा खोज्दै रङरोगन गर्ने र सर्वसाधारणले बस्न लायक बनाउन लागेको हो,’ प्रमुख जोशीले भने, ‘उपमहानगरले सार्वजनिक चौतारा र त्यसमा रहेका रुख बिरुवाहरूको समेत संरक्षण गर्ने गरी रङरोगन गर्ने काम भइरहेको छ ।’

Loading...