अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मासिक ५ हजार रुपैयाँ औषधि उपचार खर्च प्राप्त गर्दै आएका बिरामीहरूलाई आगामी साउन मसान्तभित्र आफ्नो विवरण नवीकरण गर्न आग्रह गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ मा उक्त सुविधा प्राप्त गरेका मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूले आर्थिक वर्ष २०८३/८४ का लागि विवरण नवीकरण गर्नुपर्नेछ।

‘औषधि उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८’ बमोजिम यी बिरामीलाई रोग निको नहुन्जेलसम्म मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था रहेको छ। कार्यविधिअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवाती महिना अर्थात् साउन मसान्तभित्र विवरण नवीकरण अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ।
नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अन्य सामाजिक सुरक्षा भत्ता, तलब–भत्ता वा पेन्सन नलिएको तथा विपन्न नागरिक भएको सिफारिस पत्र, उपचाररत वा नियमित फलोअपमा रहेको चिकित्सक वा अस्पतालको प्रमाणित कागजात र बिरामी स्वयंको उपस्थितिलाई अनिवार्य गरिएको छ।
नगरपालिकाले समयमै आवश्यक कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क गरी विवरण नवीकरण गर्न सबै सम्बन्धित बिरामीलाई अनुरोध गरेको छ। साथै, वडा नं. १ देखि ९ सम्मका वडा कार्यालयलाई आवश्यक सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।

