बाजुरा- नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ ।
टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नं ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । सोरुकोटमा सेवा शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपाल टेलिकमका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलालगायत गुम्बासम्म तथा बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म सेवा पुगेको छ । त्यसैगरी कुवाडी खोलाको सङ्गम आसपासका गाउँ तथा हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच विस्तार भएको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिनसक्ने नेपाल टेलिकमले जनाएको छ । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै सूचना, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो प्रतिबद्धताअनुरूप देशका सुगमदेखि अतिदुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ । रासस
