बैतडीमा पहिरोबाट निस्किए चमकदार ढुङ्गाको छानविन गर्न स्थानीयहरुको माग

बैतडी- बैतडीमा पहिरोबाट निस्किएका चमकदार ढुङ्गाको छानविन गर्न स्थानीयहरुले माग गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् ।अन्दाजी आठ इन्च लम्बाइ र चारदेखि १० इन्च गोलाकार डल्लाको दुवैतर्फ चुच्चो रहेको छ ।

पहिरोबाट निस्केका पारदर्शी डल्ला सिसा, पत्थर वा अन्य के हो ? भन्ने विषयमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ । पुर्चौडी नगरपालिका–८, लामुनीको कमेरपानीमा २०५२ सालदेखि अहिले सम्म निरन्तर पहिरो खसिरहेको छ ।

गत वर्षसम्म पहिरोबाट बारुदको जस्तो गन्ध आउँथ्यो । यो वर्ष भने सिसा जस्ता चमकदार डल्ला निस्कन थालेको स्थानीय लोकेश साउदले बताए । यहाँ बर्खामा मात्रै होइन, हिँउदमा समेत पहिरो खस्दा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ ।

यो वर्ष भने सिसा जस्ता चमकदार पारदर्शी डल्ला निस्कन थालेपछि स्थानीयले खोज अनुसन्धानको माग गरेका छन् ।

भूगर्भ विभागले यसअघि पुर्चौडी नगरपालिका क्षेत्रमा फलाम खानी र कृषि मलमा प्रयोग हुने फस्फोराइट जस्ता खानी पत्ता लगाइसकेको छ । लामुनीको पहिरोमा पनि महत्वपूर्ण खनिज वा अन्य खानी हुन सक्ने स्थानीयको अनुमान छ ।

Loading...