बैतडी- आगलागीबाट बैतडीमा ३५ लाख बराबरको क्षति भएको छ । जिल्लाकाे मेलाैली नगरपालिका ६ लामालेक बजारमा राम दत्त भट्टले संचालन गर्दै आएको महारुद्र फेन्सी पसल एण्ड आटा चक्कीमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएकाे हाे ।




सोमबार राति ११:२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, डेकुरेशन, खुद्रा लगायतका सामान जलेर नष्ट भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे ।


प्रारम्भिक अनुसन्धानबाट विद्युत सर्ट भएर आगलागी भएकाे प्रहरीले जनाएको छ । आगलागीलाई राति नै स्थानीयबासिन्दा र प्रहरीको सहयाेगले नियन्त्रणमा आएकाे थियाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




