अत्तरिया- अछाम बैजनाथ सेवा समाज कैलालीको प्रथम साधारण सभा कैलालीको अत्तरियामा आज सम्पन्न भएको छ ।


समाजका अध्यक्ष कर्ण बहादुर बोहराको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आतिथ्यमा प्रथम साधारण सभा सम्पन्न भएको हो । सभामा गोदावरी नगरपालिकाकी पूर्व नगर उप प्रमुख रत्ना कडायत विशिष्ट अतिथि रहेकी थिइन् ।



कार्यक्रममा बोल्दै कडायतले अछामी संस्कृति जगेर्ना गर्नु आफूहरूको कर्तव्य रहेको बताइन् । उनले अछाम बैजनाथ सेवा समाज कैलालीको उद्देश्य नै संस्कृति जगेर्ना गर्नु तथा एक आपसमा सहयोगीको भूमिका निर्वाह गर्नु रहेको बताइन् । त्यस्तै सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुवेदीले जहाँ पुगेपनि आफ्नो संस्कृति भुल्न नहुने उनले बताए ।
गोदावरीमा बस्ने अछामीहरु हरेक सकारात्मक कुरामा एकजुट हुनुपर्ने बताए । सबैका आ आफ्नै पेशा व्यवसाय, विचार भएपनि अप्ठ्यारोमा परेकोलाई सहयोग गर्ने उद्देश्यले अछाम बैजनाथ सेवा समाज कैलालीको स्थापना गरिएको उनले बताए । अछामका विशेष मानिने दशैँ, विषु, जन्मास्टमी, भुवा, होरी लगायतका संस्कृति र सभ्यताको जर्गेना गर्ने समाजको उद्देश्य रहेको सुवेदीले बताए ।
अछाम पुर्ख्यौली घर भई गोदावरी नगरपालिका भित्र बसोबास गर्दै आईरहेका व्यक्तिहरूको उपस्थिति रहेको उत्त सभाले आजै नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।





