अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले स्वर्गीय बीपी कोइरालाको १११ औँ जन्मजयन्ती तथा नेपाली साहित्यमा बीपी कोइराला विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । आज सोमबार एक कार्यक्रमका बिच पुस्तकालयले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि पूर्व माननीय प्रतिनिधिसभा सदस्य हिरादत्त भट्ट रहेका थिए । त्यस्तै कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर नरेन्द्र बहादुर ऐर, समाजसेवी तथा गेटा गाविसका पूर्व अध्यक्ष पदमराज भट्ट, साहित्यकार तीर्थराज ओझा गड्सेरी माइला, डोटी क्याम्पसका पूर्व सहप्राध्यापक तीर्थराज जोशी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि भट्टले समाजमा अराजकता भएको अवस्थामा बीपीको स्मरण गर्न अनिवार्य रहेको अराजकता पार्टीबाट सुरु भई समाजमा पनि व्याप्त भइसकेको बताए । देशले अराजकता थेग्न सक्दैन । नेताले सबै कुरा जानेको हुन्छ भन्नु गलत हो । हामी सबैले अराजकताको अन्तको लागि स्वर्गीय महामानव कोइरालालाई सम्झिनु पर्ने हुन्छ । बीपी कोइराला साहित्यकार मात्र नभएर कुशल राष्ट्रनायक पनि हुनुहुन्छ । त्यसैले आज उहाँको सम्झनामा साहित्यिक कार्यक्रम गर्नु पवित्र कार्य भएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै सभापति जोशीले बीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भएको मान्छे भारतको बनारसमा जन्मेका महामानव नेपाली साहित्यका नक्षत्र हुन् । उनले भारतीय साहित्यको पनि गहिरो अध्ययन गरेका थिए । उनको प्रथम कृति चन्द्रबदन थियो उनले राणा शासन हटाउन अङ्ग्रेजहरूलाई हटाउनु अनिवार्य भएकाले भारतलाई स्वतन्त्र बनाउने आन्दोलनमा बलवर्गतले भ्याए सम्म काम गरे ८ वर्ष जेलमा बस्दासम्म उनले साहित्यिक यात्रा बन्द गर्नुको साटो झन् उर्वर बनाए ।
हाम्रो समाजमा धेरै व्यक्तिहरू छन् । जसको बारेमा अन्तरक्रिया तथा छलफल गर्नुपर्छ । समाजलाई बदल्ने प्रेरणा यस्ता व्यक्तिहरूले दिने गर्छन् । समाजसेवीहरुलाई समावेश गरेर कार्यक्रमहरू गर्नु अनिवार्य छ । सत्ता पाइसकेपछि सबै विचारविहीन छन् । सबै नेताहरू भ्रष्ट भइसके । हामीहरूले आफ्नो काम माथि पनि समालोचनात्मक दृष्टिले सोच्नु जरुरी रहेको बताए । समाजमा भएका विकृतिहरू जुवातास रक्सी आदिको विरुद्ध सबैले लाग्नुपर्ने बताएका हुन् ।

बहुआयामिक व्यक्तित्व बीपी कोइरालाले नेपाली साहित्यमा अचुक योगदान दिएका छन् । उनले कथा उपन्यास इत्यादि लेखेका छन् जसमा यौन मनोविश्लेषण तथा फ्रायडवादी चिन्तन पाइन्छ । हिन्दी साहित्यबाट उनी नेपाली साहित्यमा आएका हुन् । उनि राजनीति र साहित्य दुवैमा दखल महामानब मानवतावादी जातीय समानता र ७ सालको क्रान्तिका नायक थिए । उनको बारेमा बुझ्न उनका कृतिहरू पढ्न अनिवार्य छ । अन्धविश्वास कुरिती र असमानताको विरुद्धमा विद्रोह उनका प्रकाशित कृतिहरूमा देखाइएको छ ।
आमन्त्रित अधिकांश वक्ताहरुले साहित्यकार वी.पी.का विषयमा आ–आफ्ना सारगर्भित विविध रचनाहरु एवम् मन्तव्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा पुस्तकालयका कार्यकारी सदस्य विष्णुनाथ ओझाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता एल आर ओझाले गरेका थिए ।





