कोभिशिल्ड लगाएकाहरुलाई एष्ट्राजेनेका खोप लगाइने




काठमाडौं, २४ साउन- दोस्रो मात्रा खोपको प्रतिक्षामा रहेका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई जापानबाट आएको एष्ट्राजेनेका खोप लगाइने भएको छ ।



आइतबार काठमाडौं आइपुगेको कोरोना विरुद्धको ५ लाख १३ हजार ४ सय २० मात्रा एष्ट्राजेनेका खोप सातै प्रदेशका ६५ वर्ष माथिका १३ लाख बढी जेष्ठ नागरिकले भोली (सोमबार) देखि लगाइने भएको छ । फागुन तेस्रो साता ६५ वर्ष माथिका जेष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए ।


दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ ।



