किसान कृषि सहकारी संस्थाको नवौँ वार्षिक साधारण सभा सम्पन्न
संस्थाको कुल शेयर पूँजी ५० लाख ३ सय रुपैयाँ, खुद नाफा १ लाख ८१ रुपैयाँ
अत्तरिया, ३१ साउन । कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा स्थित किसान कृषि सहकारी संस्थाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष राधा विष्ट कुँवरको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी रहनु भएको थियो ।
त्यस्तै विशिष्ट अतिथिहरूमा नेपाल महिला सशक्तीकरण उद्यम विकास अधिकृत सन्तोष पराजुली, नव सिर्जना सहकारी झलारीका अध्यक्ष भीम अवस्थी, सूर्य ज्योति लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रबन्धक नरेश भट्ट लगायत सहकारी शेयर सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि जोशीले सबैका लागि एक र एकका लागि सबै भन्ने सहकारीको सिद्धान्त अनुसार काम गर्नुपर्ने बताए । ‘यो कृषि सहकारी संस्था भएकोले कृषि ऋणको सदुपयोग गरेर आम्दानी गर्ने र संस्थालाई पनि बुझाउने ऋणीहरूको कर्तव्य हुन आउँछ ।’ उनले भने, ‘कृषि व्यवसायमा संलग्न व्यक्तिहरू नै किसान हुन् । हाम्रो धर्मशास्त्रले किसानलाई पञ्चपितामध्ये एक मानेको छ । त्यसैले कृषिलाई सबैले सम्मान गर्नुपर्छ ।’
सञ्चालक समिति सहकारीको सर्वोत्कृष्ट निकाय भएकोले सहकारीलाई हिजोभन्दा अझै राम्रो बनाउन कोसिस सञ्चालक समितिहरूले मिलेर गर्नुपर्ने हुन्छ साथै सबै शेयर सदस्यहरूले पनि यसमा सहयोग गर्नुपर्छ । कर्मचारीहरूको भूमिका पनि महत्वपूर्ण नै रहने बताए ।
उक्त साधारण सभामा १ वर्ष भरी भएका संस्थाको गतिविधिको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष राधा विष्ट कुँवरले गरेकी थिइन् ।
त्यस्तै सभामा संस्थाको आ.व. २०८०/०८१ को आय-व्यय प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्धक सुना रोकायाले २०७२ सालमा २७ जना शेयर धनीहरू मिलेर स्थापना गरी सञ्चालनमा ल्याइएको यस सहकारी संस्थामा महिला १ हजार ३ सय ५६ जना र पुरुष ६ सय ५० जना गरी हाल २ हजार ६ जना शेयर सदस्यहरू पुर्याउन संस्था सफल भएको बताइन् ।
उनले आ.व. २०८०/०८१ मसान्त सम्म संस्थाले ४ करोड ३० हजार ९ सय ४४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको संस्थाको कुल शेयर पूँजी ५० लाख ३ सय रुपैयाँ रहेको बताइन् ।
त्यस्तै जगेडा कोषमा २१ लाख ९९ हजार २ सय ४७ रुपैयाँ रहेको संस्थाले ३ करोड ७६ लाख १ हजार ४ सय ५३ रुपैयाँ कर्जा तर्फ लगानी गरेको बताइन् । साथै यस आर्थिक वर्ष निक्षेपमा २ करोड ४८ लाख ४५ हजार ३१ रुपैयाँ बचत संकलन रहेको जुन गत वर्षको भन्दा २९ लाख ५७ हजार ९ सय ५६ रुपैयाँ वृद्धि भएको प्रबन्धक रोकायाले बताइन् ।
त्यसैगरी संस्थाले यस आर्थिक वर्षमा १ लाख ८१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस संस्थाले विशेष गरी महिलाहरुको जीवन स्तर उकास्न सहजीकरणको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ भने कृषिलाई पहिलो प्राथमिकता दिँदै आइरहेको छ ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि भीम अवस्थीले लघुवित्त र बैँक जस्तै सहकारीले काम गरिरहेका छन् । सहकारीले फरक ढङ्गले सेवा दिनुपर्छ । सहकारी सम्बन्धी ज्ञान सबै सदस्यमा छैन हामीहरू सबै सदस्यहरूले सहकारीलाई निगरानी गर्नुपर्छ । राज्य पनि सहकारी प्रति उदासीन देखिएको छ । नियम कानुनहरु त छन् तर कार्यान्वयनमा राज्य चुकेकै छ । सदस्यहरू जोडेर मात्र हुँदैन । सबैको उन्नति हुने किसिमले जानुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सन्तोष पराजुलीले सहकारी कसको सञ्चालक समितिको कि सदस्यहरूको हामीहरूले प्रष्ट रुपमा बुझ्नुपर्ने हुन्छ सहकारीका साथ सिद्धान्तहरू लेखा समिति र सञ्चालक समितिको भूमिका के हो सबैले बुझ्नु पर्ने बताए । संस्थाले सम्पूर्ण उद्यमीहरूलाई केन्द्रविन्दु बनाएर सबैलाई ऋण दिनुपर्छ । ऋण डुब्ने ठाउँमा ऋण दिनु नहुने समेत बताए ।
त्यस्तै कार्यक्रमको समापन गर्दै राधा बिष्टले सहकारीले उद्यमीहरूलाई मात्र ऋण दिनुपर्छ हाम्रा ऋण लिनेहरू छोराको मोबाइल किन्न स्कुलको शुल्क तिर्न विदेश पठाउन ऋण निकाल्छन् त्यो पैसा तिर्न सक्ने स्रोतै हुँदैन । त्यसैले सहकारी डुब्न बेर लाग्दैन भनेर बताइन् ।
त्यस्तै कार्यक्रममा असल ऋणी, असल बचतकर्ता, असाल कृषक, एसइइमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल शेयर सदस्यका सन्तती लगायतलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा नीतिका अवस्ती, आयुषा देउबा, मंगल जेठारा, तुलाराम चौधरी, जानकी थापा, यशोदा अवस्थी, लक्ष्मी अवस्थी, ओम प्रसाद पोखरेल आदि रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शान्तिदेवी कामीले राखेकी कार्यक्रमको सञ्चालन पत्रकार शारदा फुलाराले गरेकी थिइन् ।