

बैतडी- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत वर्ष निर्यात शून्य झरेको छ ।


कार्यालयले गत आर्थिक बर्ष २०८०/८१ मा राजस्व संकलनको लक्ष्य उछिनेको भएपनि निर्यात भने शून्य देखिएको हो । यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केहि वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा गत वर्ष त्यो पनि नगएको हो ।


आयातबाटै भन्सार कार्यालयले लक्ष्य भन्दा १७० प्रतिशत बढी राजश्व संकलन गरेको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिनुभयो ।

कार्यालयले गत आर्थिक वर्षमा ५१ लाख हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको प्रमुख झाले बताउनुभयो । लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० रुपैयाँ बढी राजस्व संकलन भएको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो ।
पैठारीबाट ६३ लाख ७७ हजार २ सय ६४ रुपैयाँ, मूल्य अभिवृद्धि करबाट २१ लाख ७२ हजार ९ सय ५ रुपैयाँ, भन्सार सेवा दस्तुरबाट १ लाख ८० हजार रुपैयाँ र अन्तशुल्कबाट २५ हजार ९ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ ।
विगतका बर्षहरुमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्ने महाकाली भन्सार कार्यालय झुलाघाटले गत आर्थिक बर्षमा भने लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । आर्थिक वर्ष २०७९/८० मा ३८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयाँमात्रै संकलन भएको थियो ।
भन्सार क्षेत्रमा गरिएको कडाई, आयातमा वृद्धि लगायतका कारणले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयले जनाएको छ ।
यो नाकाबाट चिनी,कपडा, गुड,भाडाकुँडालगायतका घरायसी प्रयोजनका सामग्रीहरु भित्रिने गरेको छ । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीहरुले धेरैजसो सामानहरु धनगढी काठमाडौंबाटै ल्याउने गरेका छन् ।