बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरी सहित पाँच जना घाइते

अत्तरिया- कैलालीको अत्तरियामा सवारी दुर्घटना भएको छ । बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीका २ जना सहित ५ जना घाइते भएका छन् ।

शनिवार साँझ अत्तरिया–धनगढी ६ लेन सडक खण्ड अन्तरगत सब्जी मन्डी अगाडि भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जना सशस्त्र प्रहरी र बसमा सवार ३ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट अत्तरियातर्फ आइरहेको से १ ख ९१५ नम्बरको बसले सडक क्रस गरिरहेको सुदूरपश्चिम प्रदेश ०१०१० प ८६३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का ३० वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सुरत ऐर र २८ वर्षीय सशस्त्र प्रहरी जवान निलम बोहरा घाइते भएका छन् । दुवै जना सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत रहेका थिए ।

त्यस्तै दुर्घटनामा बसमा सवार गौरीगंगा नगरपालिका–३ का ६५ वर्षीय मीन प्रभात जोशी, धनगढीकी २० वर्षीय करुणा चौधरी र घोडाघोडी नगरपालिका–६ की प्रियङ्कीत भण्डारी घाइते भएका छन् ।

घाइते ४ जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ भने बायाँ खुट्टा र बायाँ हातमा चोट लागेका मोटरसाइकल चालक ऐरलाई भारत लगिएको छ। बस चालक गोदावरी नगरपालिका–१ का ३५ वर्षीय मीनबहादुर चौधरी र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

Loading...