धनगढी- सुदूरपश्चिममा मासुको उपभोग बढेसँगै उत्पादनमा पनि वृद्धि भएको छ । २०७९ को तुलनामा २०८० पुस मसान्त सम्म मासुजन्य उत्पादन ७ दशमलव २९ प्रतिशतले बढेर ३७ हजार २७५ मेट्रिकटन मासु उत्पादन भएको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, पशुंपछी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकले देखाएको हो ।
सो अवधिसम्म दार्चुलामा एक हजार १६३ मेट्रिकटन, बैतडीमा एक हजार ५३७ मेट्रिकटन, डडेल्धुरामा ७८५ मेट्रिकटन र कञ्चनपुरमा चार हजार ५५७ मेट्रिकटन मासु उत्पादन भएको छ ।
त्यस्तै बझाङमा तीन हजार २२, बाजुरामा एक हजार ६७०, डोटीमा एक हजार ४७५, अछाममा दुई हजार ५७२ र सबै भन्दा बढी कैलालीमा २० हजार ४९३ मेट्रिकटन मासु उत्पादन भएको छ। कुखुरा तथा हाँसको उत्पादन ८ दशमलव ८१ प्रतिशत, खसी/बोका/भेडाको मासु उत्पादन ९ दशमलव १९ प्रतिशत, सुँगुर/बंगुरको मासु उत्पादन ३ दशमलव ७७ प्रतिशत र भैंसी/राँगाको मासु उत्पादन ५ दशलमव १४ प्रतिशतले बढेको छ ।
मासु उत्पादनमा कैलालीको जिल्लाको हिस्सा सबै भन्दा धेरै ५४ दशलमव ९८ प्रतिशत र डडेल्धुरा जिल्लाको सबै भन्दा कम २ दशमलव ११ प्रतिशत देखिएको छ । सुदूरपश्चिम प्रदेश भित्र वार्षिक ३ अर्ब रुपैयाँ बराबरको मासुको कारोबार हुने गरेको अनुमान समेत गरिएको छ ।
प्रदेशभित्र उपभोक्ता मूल्यका आधारमा मासिक २५ करोड रुपैयाँको मासु खपत हुँदै आएको छ । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ । विदेशी र स्वदेशी गरी प्रतिव्यक्ति सुदूरपश्चिममा १० किलो मासु खपत हुने गरेको छ ।