धनगढीले एसईई ग्रेडवृद्धि परीक्षाको तयारी कक्षा चलाउन अनुदान दिने

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिकाले माद्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको तयारी कक्षा सञ्चालन गर्न अनुदान दिने भएको छ ।

उपमहानगरपालिकाले गणित र विज्ञान विषयको कक्षा चलाउन विद्यालयहरूलाई अनुदान दिने निर्णय गरेको हो । साउन २३ गतेदेखि ग्रेडवृद्धि परीक्षा हुँदैछ ।

साउन २२ गते सम्म कक्षा चलाउन धनगढीका २६ सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको धनगढी उपमहानगरपालिकाका प्रशासकीय प्रमुख नरेन्द्रनहादुर खातीले बताए ।

उनले गणित र विज्ञान विषयमा ननग्रेड (एनजी) आएका विद्यार्थीहरूका लागि कक्षा चलाउन विद्यालयहरूलाई विद्यार्थी संख्या र पिरियडको आधारमा अनुदान उपलब्ध गराउने बताए ।

ग्रेडवृद्धि दिने विद्यार्थीलाई परीक्षामा ग्रेड बढाउन सहज होस् भनेर हरेक विद्यालयले शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ता दिन मिल्ने हिसाबले अनुदान निकासा गरिने प्रशासकीय प्रमुख खातीको भनाइ रहेको छ ।

गणित र विज्ञान विषय पढ्न चाहने विद्यार्थीको संख्या शिक्षा महाशाखामा पठाउन विद्यालयलाई सजिलो होस् भनेर उपमहानगरपालिकाले क्युआर कोडको व्यवस्था गरेको छ ।

Loading...