सुदूरपश्चिम प्रदेशमा पहिलो पटक उसु प्रतियोगिता हुने

कैलाली- सुदूरपश्चिम प्रदेशमा पहिलो पटक उसु प्रतियोगिता हुने भएको छ । आगामी  असार १४ गते देखी १६ गते सम्म कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री कप तथा तेस्रो आमन्त्रित अन्तर प्रदेश क्वान स्तरीय राष्ट्रिय उसु प्रतियोगिता आयोजना हुने भएको हो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शिअ उसु क्वानले प्रतियोगिताको तयारी थालिएको बारे जानकारी दिएको छ ।  कार्यक्रमका संयोजक पदम बहादुर ठकुल्लाले प्रतियोगिताको तयारीबारे जानकारी दिएका हुन् ।

उनले प्रतियोगिताको आयोजनाको लागि विभिन्न उपसमिति समेत गठन गरिएको जानकारी दिए । आर्थिक संकलन तथा व्यवस्थापन उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, गाँस वास व्यवस्थापन समिति, प्राथमिक उपचार व्यवस्थापक समिति, प्राविधिक व्यवस्थापक समिति, स्वयम सेवक व्यवस्थापक समिति, मञ्च व्यवस्थापन समिति र नृत्य तथा  उसु खेलको प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको जानकारी दिए ।

प्रतियोगिताको लागि ३० स्वर्ण, ३० रजत तथा ५४ कांस्य पदका लागि प्रतिस्पर्धा हुने जनाइएको छ । १८ वर्ष मुनिको ४८ किलो सम्मको खेलाडी र १८ वर्ष भन्दा माथिको ६० किलो सम्मका ४० वर्ष मुनिका खेलाडीहरूको सहभागिता रहने जनाइएको छ । विभिन्न प्रदेशका २ सय खेलाडीहरूको सहभागी हुने बताइएको छ ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले सुदूरपश्चिम प्रदेशलाई उसुबाट राम्रो उपलब्धि हासिल गरिरहेको जनाएका थिए । उनले परिषद्मा राम्रो बजेट नहुँदा धेरै खेलकुदका गतिविधि गर्न नसके पनि सुदूरपश्चिममा खेलकुदको विकासमा ठुलो फड्को मारेको बताए । उनले राज्यबाटै खेलकुदलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका थिए ।

Loading...