बैतडी- बैतडीको पाटन नगरपालिका ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएकाे छ । विरभानकाे हत्यामा संलग्न रहेका पाँच जनाकाे नाममा आफन्तले किटानी जाहेरी दिएपछि मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायब निरीक्षक भुपाल थापाले जानकारी दिनुभयाे । मुद्दा दर्ता भएका मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने १ जना अझै फरार रहेका छन् ।


पाटन नगरपालिका ६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन नगरपालिका १ का राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । त्यस्तै मंगलबार पाटन नगरपालिका ६ कै भरतमोहन विष्टलाई पनि नियन्त्रणमा लिइएको छ । मुद्दा दर्ता भएकामध्ये एकजना अझै फरार रहेका र उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।



पक्राउ परेका चारै जना माथि प्रहरीले अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ । असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका ६ स्थित घाङल खोलामा फेला परेको थियो । भागरथीले विरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरू भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । भागरथी सहस्त्र लिंग आधारभूत विद्यालयकी शिक्षिका हुन्। भने मृतक ट्रक चालक रहेका थिए ।
असार १ गते राति नै विरभानको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथी कै घरमा राखिएको र त्यसपछि पक्राउ परेका अन्य व्यक्तिहरूको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ ।
हत्याको कारण पूर्ण रूपमा खुलिनसकेको भएपनि रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीको बयान रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





