अत्तरिया- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिएका छन् ।
माओवादीका सबै प्रदेशका माननीयहरुलाई काठमाडौं बोलाएर गरिएको बैठकमा पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रचण्डले दल नेता भट्टलाई बनाउनु भनेर निर्देशन दिएको जानकारी दिए । यस्तै हालै पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन आएको उनले बताए ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । यस अगाडि सुरुमा दल नेता रहेका भट्टलाई बहुमतको निर्णयबाट हटाएर अर्का माननीय मानबहादुर धामी दल नेता बनेका थिए ।
त्यसपछि दलमा २ धारसमेत भएको बताइएको थियो । सोही क्रममा भट्टले दल नेताबाट हटाइएपछि चर्को असन्तुष्टि पोखेका थिए । उनको असन्तुष्टि र पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीको सहभागितालाई लिएर विवाद चर्कदै गएपछि प्रचण्डले पार्टी प्रदेश इञ्चार्ज सहित सबै सांसदलाई काठमाडौं बोलाएका थिए ।
सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन । १० जनामध्ये ५ जना दल नेता धामीको पक्षमा र ५ जना खगराज भट्टको पक्षमा देखिएका छन् ।