धनगढी- कैलालीको धनगढीमा युवतीको अश्लील भिडियो बनाउने दुई जना पक्राउ परेका छन् । धनगढी स्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक सहित एक जना बालक पक्राउ परेका हुन् । अश्लिल भिडियो बनाएर युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पसल सञ्चालक सहित बालक पक्राउ परेका हुन् ।






प्रहरीका अनुसार पक्राउ पर्नेमा मोबाइल ग्यालरीका सञ्चालक धनगढी उपमहानगरपालिका–१ का ४१ वर्षीय शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बहादुर बोहराले उनीहरूले पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनी युवतीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको पाइएपछि पक्राउ गरिएको बताए ।





डिएसपी बोहराका अनुसार मोबाइलमा युवतीको फोटोमा अश्लिल फोटा जोडेर भिडियो बनाएर फेसबुक आइडीबाट उनैलाई पठाएर ब्ल्याकमेल गरिएको थियो भने युवतीको फेसबुक आइडी समेत प्रयोग गरेर विभिन्न अश्लिल भिडियो हेर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पीडित युवतीले दिएको जाहेरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




