यू-१९ सुदूरपश्चिम छनाैट: कैलालीकाे विजयी सुरुवात

बैतडी- वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनौटमा समूह बी काे दाेस्राे खेलमा कैलाली विजयी भएको छ । आइतबार सम्पन्न खेलमा कैलालीले अछामलाई ८ विकेटले हरायाे

अछामले दिएको १०१ रनकाे लक्ष्य कैलालीले २ विकेट गुमाउँदै पूरा गर्याे । जसमा क्रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनकाे योगदान गरे । अछामका युवराज खत्री र निराजन गाैतमले १/१ विकेट हात पारे ।

त्यस अघि परशुराम नगरपालिका १२ स्थित जाेगबुढा रंग मैदानमा पहिला ब्याटिङ गरेकाे अछाम २८.२ ओभरमा १०० रनमा अलआउट भयाे । उसमा रविन भण्डारीले ४३ रन जाेडेपनि अन्य ब्याटरले सम्झिनलायक प्रदर्शन गर्न सकेनन् ।

कैलालीका दीपक राेकाया एक्लैले ६ विकेट हात पारे । खेलका म्यान अफ द म्याच समेत चुनिएका दीपकले ८.२ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ६ विकेट हात पारेका हुन् ।

प्रतियोगिता अन्तरगत सोमबार कञ्चनपुर र बझाङ भिड्ने स्काेरर लाेकेश जाेशीले जानकारी दिएका छन् । समूह बी बाट शिर्ष स्थानमा पुग्ने टाेली फाइनलमा बैतडी संग भिड्नेछ । समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगि सकेकाे छ ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए । सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे

दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेली बीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । 

प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैट कर्ता दीपेन्द्र भण्डारीले बताए । 

Loading...