Division ban Pahalmanpur

सुदूरपश्चिम विश्वविद्यालयले अतिक्रमित सयौँ बिघा जमिन खाली गराउँदै

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पस अन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।

कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण हटाउन पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । वि.सं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापना गर्न ३ सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनु पर्ने बताए ।

Malpot office dadeldhura

“टीकापुर स्थित क्याम्पससँग ३ सय ८० बिघा जग्गा रहे पनि क्याम्पसले हाल सम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ”, उपकुलपति प्रा. डा. पन्तले भने । ३ सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमणमा परेको छ । वास्तविक पीडितको पहिचान गरी व्यवस्थापनमा ध्यान दिएर विश्वविद्यालयको जमिन खाली गराउन सम्बन्धित निकायले अग्रसरता लिनु पर्ने उनको भनाइ छ ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्ष समेत आग्रह गरिएको बताए । “केन्द्रीय स्तरको पहलबाट मात्रै अतिक्रमित जमिन खाली गराउन सकिने हुँदा पहल गरिनु आवश्यक छ”, उनले भने, “विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा पुगेको छ ।”

वि.सं २०६३ देखि क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताए । उनले पछिल्लो समय गृह मन्त्रालयद्वारा सार्वजनिक जग्गा सम्बन्धी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपुर्जा सहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेस गरिएको जानकारी दिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...