बैतडीमा पालिका स्तरीय शैक्षिक सम्मेलन ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बैतडी- शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय शैक्षिक सम्मेलन ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए ।

शैक्षिक सम्मेलनले पारित गरेको घोषणापत्रमा प्रत्येक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने, फोहरमैला व्यवस्थापन, नैतिक शिक्षा दिने, विद्यालय सुधार योजना अनुसार अघि बढ्ने, हरित विद्यालयको अवधारणा, विद्यालयको दिवा खाजा कार्यक्रमका लागि विद्यालयमै उत्पादन, उत्कृष्ट खेलाडी उत्पादन गर्नेलगायतका कुरा उल्लेख छन् ।

सम्मेलनको पहिलो दिन विद्यालयहरूले विद्यालय सुधार योजना प्रस्तुत गरेका थिए भने दोस्रो दिन विज्ञान तथा कला प्रदर्शनी र कार्यक्रमको अन्तिम दिन नृत्य प्रतियोगितासहित सम्मेलन सम्पन्न हो । सम्मेलनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि सामूहिक रूपमा पहल गर्ने निष्कर्ष निकालेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टको विश्वास छ।

गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले सम्मेलनले सामुदायिक विद्यालयलाई आफ्नो कार्ययोजना अनुसार शैक्षिक कार्यक्रम अघि बढाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सम्मेलनको आयोजना गरिएको हो । यसले भोलिका दिनमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउने अपेक्षा छ।’ गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा आयोजना गरिएको सम्मेलनमा पालिका भरिका ५६ सामुदायिक विद्यालयको सहभागिता थियो ।  रासस

Loading...