बजार नपाउँदा घरमा कुहियो प्याज




बाजुरा, १४ साउन- ‘गहुँ फल्ने खेतमा प्याज लगाउँदा फाइदा हुन्छ भनेर यो वर्ष प्याज रोपियो । प्याज अचाक्ली गरी फल्यो । घरभित्र राख्ने ठाउँ नभएर गाई बाँध्ने गोठ पनि भरियो । नजिकैको बजारमा लैजाउँ भने गाउँले सबैले प्याज लगाएका छौं । टाढा लिएर जाउँ भने बाटो नै छैन’, स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. १ का हंशबहादुर बिकले गुनासो पोखे ।



प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत आर्थिक वर्षमा स्वामीकार्तिक खापर गाउँपालिका–१ बाउँनीलाई प्याजको पकेट क्षेत्रका रुपमा विकस गर्ने कार्यक्रम आएपछि गाउँलेले प्याज भण्डारण र गाउँमा रहेको १२ हेक्टर जमीनमा प्याज खेती लगाएका थिए । प्याज सोचे भन्दा धेरै उत्पादन भएपछि भण्डारणको समस्याले कुहिन थालेपछि पूरै गाउँ नै प्याज गन्हाउने भएको छ । गाउँका एक दुई जनाले मात्र होइन, पूरै ४० परिवारले प्याज खेती गरेका छन् । ‘गाउँमा सबै भन्दा बढी मैले प्याज फलाएको थिएँ । खेतबाट बोकेर घर पुर्याइयो । ६० क्विन्टल प्याज घर पुर्याउँदा घरमा राख्ने नै ठाउँ भएन । स्कुलमा लगेर केही दिन सुकाइयो ।


आधा भन्दा बढी सुकाउने ठाउँ नभएर कुहिएर खेर गयो । पैसा समाउने बेला आफ्नो सम्पति कुहिदा मन सारै रोएको छ। गाउँ भरी प्याज कुहिएर गन्हाउने भएको छ’, दीपक बिकले गुनासो पोखे । स्वामीकार्तिक खापर गाउँपालिकाको कृषी शाखा संयोजक नरेश कुमार रोकाका अनुसार प्याजको एउटै दाना एक केजी सम्मको रहेको छ । उनले भने, ‘हामीले सोचे भन्दा धेरै प्याज फलेको छ । गाउँमा सुकाउने ब्यवस्थापन नहुँदा सडेर गाउँनै गन्हाउने भएको छ ।



