अत्तरियामा २५६८ औं बुद्ध जयन्ती मनाइयो

अत्तरिया- अहिंसावादी विश्व शान्ति धर्मचक्र बौद्ध गुम्बा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय अत्तरियाले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । गुम्बाले बिहीबार अत्तरिया बजार परिक्रमा गरी गुम्बाकै प्राङ्गणमा भव्यताका साथ बुद्ध जयन्ती मनाइएको हो ।

पूर्व राज्यमन्त्री चुन कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गुम्बाका अध्यक्ष गोपाल तामाङले अध्यक्षता गर्नु भएको थियो । उद्योग वाणिज्य संघ अत्तरियाका अध्यक्ष कल्याण सिंह बोहरा विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएको चौधरीले नेपालमा जन्मेका बुद्ध एसियाको ज्योति र विश्व प्रसिद्ध भगवान भएको हुँदा उहाँको सम्झना र सम्मानमा आफ्नो बुद्धि विवेकले भ्याए सम्म काम गरिरहेको बताइन । ‘यस गुम्बाको निर्माण कार्य पुरा हुन नसकेकोमा आफूलाई दुःख लागेको छ ।’ उनले भनिन्, ‘आउँदो बजेटमा यस गुम्बाको लागि रकम छुट्याउन कोसिस गर्ने गुम्बाले जसरी मलाई माया गर्छ उसरी नै आफूले पनि सहयोगका लागि पहल गर्ने छु ।’ आफूले पहिला पनि यस गुम्बाका लागि सहयोग गरेको बताइन् । 

मन्तव्यकै क्रममा कार्यक्रमका सभापति तथा गुम्बाका अध्यक्ष तामाङले बुद्ध नेपालमा जन्मेका भएता पनि उनको ज्ञान उपदेश तथा धर्म विश्वभरि फैलिएको उहाँ शान्तिका अग्रदूत भएको उनका उपदेशहरू मानव जीवनको लागि अति नै उपयोगी भएको बताए । अहिंसा नै धर्म हो भन्ने उहाँको उपदेश पञ्चशीलका सिद्धान्तहरू अहिलेको युद्धग्रस्त समयमा ज्यादै सान्दर्भिक रहेको बताए । 

त्यस्तै बौद्ध गुम्बाका प्रमुख लामा गणेश मोक्तानले भगवान बुद्धले चोर्नु र ढाँट्नु पापकर्म भनेकाले गुम्बाको सञ्चालनको लागि आफूले स्वैच्छिक सहयोग मागेको तर ढाँट्ने चोर्ने काम नगरेको बताए । गुम्बाका सदस्यहरूलाई खर्च पूजा कार्यका लागि खर्च गुम्बाको स्तरोउन्नती गर्न धेरै खर्च लाग्ने भएपनि दाताहरूको सहयोगले यो समस्या कम भएको बताए । उक्त कार्यक्रमको सञ्चालन गुम्बाका सचिव नर बहादुर थापा मगरले गरेका थिए ।

Loading...