कैलालीमा पोलियो विरुद्धको आई पि भी खोप अभियान शुरु

४५ हजार बालबालिका लाई आई.पि.भी खोप लगाइदै

धनगढी- कैलालीमा पोलियो विरुद्धको आई पि भी खोप अभियान २०८१ शुरु हुने भएको छ । यहि जेठ १३ देखी २६ गते सम्म जिल्लाका १३ वटा स्थानीय तहका ५ वर्ष मुनिका ४५ हजार भन्दा बढी बालबालिका लाई खोप लगाउँने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । २०७३ बैशाख देखि २९७५ असोज सम्म आई पि भी खोप लगाउँन छुटेका बालबालीकाहरू लाई पोलियो रोग लाग्ने उच्च जोखिम हुँदा रोगबाट सुरक्षित गराउँन खोप अभियान सञ्चालन भइरहेको हो ।

पोलियो उन्मूलन भएका दक्षिण एसियाका देशहरूमा पोलियो रोगबाट पूर्णरुपमा सुरक्षित हुन आई.पि. भी खोप अनिवार्य भएको चिकित्सकहरूले बताएका छन् । यस खोप अभियान लाई प्रभावकारी बनाउँन आई.पि. भी खोप लगाउँने उमेर समुहका अधिकांश बालबालिकाहरू विद्यालय जाने उमेरका भएका कारण विद्यालयमा खोप केन्द्रहरू राखिने छन् ।

त्यस्तै विद्यालय नजाने बालबालिकाहरूले पनि नजिकैको विद्यालयमा गएर खोप लगाउँन सक्नेछन् । विद्यालयमा समेत खोप लगाउँन छुटेका बालबालिकाले स्थानीय स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउँन सक्ने छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले खोप अभावका कारण २०७३ साल बैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकाहरूले आई.पि.भी खोप लिन जरुरी रहेको जानकारी दिए । आई.पि.भी खोप अभियान २०८१ सफल पार्न जिल्ला स्तरिय खोप समन्वय समितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका कार्यवाहक सभापति, कैलालीका प्रमुख जिल्ला अधिकारी पत्रकार र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

Loading...