धनगढी- धनगढीमा योजना छनौटका लागी सल्लाहकार टिम गठन गरिन थालेको छ । वडाका योजना छनौट, आपराधिक क्रियाकलाप नियन्त्रण सँगै सफा र सुन्दर वडा बनाउने योजना सहित धनगढीमा वडा सचिवालय सल्लाहकार टिम गठन भएको हो ।
यो टिमले जनप्रतिनिधि र जनता बिचको दूरी कम गर्नुका साथै आवश्यकताका आधारमा योजना छनौट हुने अपेक्षा लिइएको छ । योजना छनौटमा सहजीकरण सँगै जनताका समस्या सम्बोधनमा सहजता ल्याउने उद्देश्य सहित धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा सचिवालय सल्लाहकार टिम गठन भएको छ । २०८९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएको दुई वर्ष पुरा भएको अवसरमा आयोजित वडा विषेश कार्यक्रमको अवसरमा सल्लाहकार टिमलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
वडाका योजना छनौट सँगै शान्ति सुरक्षा कायम गर्ने उद्देश्य सहित वडामा सचिवालय टिम गठन गरिएको हो । वडाका ६ वटा गाउँबाट दुई/दुई जना छनौट गरी १२ जनाको सचिवालय बनाइएको छ । यो सचिवालयले वडाका समस्या सम्बोधन गराउन जनप्रतिनिधिहरू सँग सहजीकरण गर्ने छ । पूर्व कर्मचारी, बुद्धिजीवी, राजनीतिक दल, समाजसेवी लगायत अग्रजहरूलाई समेटेर टिम गठन गरिएको हो । यो टिमले योजना छनौटमा सहजीकरण गर्नुका साथै वडाका कामलाई चुस्त दुरुस्त बनाउन सहज हुने अपेक्षा लिइएको छ ।
सल्लाहकार समितिका सदस्य ललित केसीले हामी सबैको सहकार्यबाट विकास सम्भव भएका कारण टिमले जनप्रतिनिधिहरूलाई सहजीकरण गर्ने बताए । वडा नम्बर १२ निकै सम्भावना र समस्या भएको वडा हो उनले भने “जनप्रतिनिधि ज्युहरुले केही पहल गरिरान्नु भएको छ, उहाँको तर्फबाट धेरै गरेको पाए, तर हामी वडावासी आफ्नो कर्तव्य बिर्सिराखेका त छैनौँ, अरुलाई गरेन मात्रै भन्ने तर हामीले हाम्रो कर्तव्य भुल्ने काम गर्नु भएन त्यस कारण हामी सबै मिलेर सुन्दर अनि बिकसित वडा बनाउनुपर्छ, सरकारी बजेट जति आउँछ त्यसको सदुपयोग गरौँ, राम्रा र शन्ततीलाई समेत हित हुने गरी सबै एकजुट भएर लागौँ ।”
यो एकदमै सह्रानिय काम छ स्थानीय नन्दराज जोशीले भने “पछिल्लो जनप्रतिनिधि आएपछि निकै उल्लेख्य काम भएको पाइयो, शिक्षामा सुधार भएको छ, योजना छनौटको तरिका परिवर्तन भएको छ, विगतमा कोठे बैठकबाट योजना छनौट हुन्थे अहिले हेर्नुस्, सबै जनताका सुझाव मागेर यस्तो कार्यक्रम भइरहेको छ, अब झन जनता सँगै जोडिनका लागी सल्लाहकार टिम समेत गठन गरेर जनप्रतिनिधिहरूले जनता सँग प्रत्यक्ष जोडिन खोज्नु भाछ, यो एकदम राम्रो हो ।”
वडाको आधा भूभाग भारतीय सिमाना सँग जोडिएको भएका कारण पनि सुरक्षाको चुनौती छ । यति मात्रै नभएर बजार भन्दा केही टाढा भएको जुगेडा गाउँमा अझै चेतनाको विकास हुन सकेको छैन । यसका लागी वडा सचिवालय टिमले सहजीकरण गर्नुका साथै वडा भित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत समग्र विकास निर्माणका काममा सुझाव सल्लाह समेत दिने काम गर्ने छ । जनप्रतिनिधिले नदेखेका समस्या सचिवालय टिमले देख्ने र समाधानको प्रयास गरिने वडा अध्यक्ष शेर बहादुर महराले बताए ।
हामीले धेरै काम सुधार गरेका छौँ, विगतमा आपराधिक क्रियाकलाप दैनिक भइरहेका सुनिन्थे अहिले त्यो कम गर्न सफल भएका छौँ वडा अध्यक्ष महराले भने “सुरक्षाकर्मी सँग राती गस्ती गरेर पनि हामीले छयापे र गुण्डागर्दी गर्नेहरूलाई केही हदसम्म तह लाउन सकेका छौँ, विकास निर्माणका विषय हामीले प्रस्ट राखिसकेका छौँ र यसको निगरानी गर्न सबै वडाबासीलाई अनुरोध गर्दछु, पछि गुनासो गरेर फाइदा हुन्न, काम भइरहेका योजना बारे जानकारी लिएर प्रत्यक्ष निगरानी राख्नुस्, हाम्रो तर्फबाट कमजोरी भए हामीलाई पनि झकझक्याउनुस तर वडा बनाउन एकजुट हुनुपर्छ ।”
वडा नम्बर १२ ले वडाका बुद्धिजीवी, समाजसेवी तथा राजनीतिज्ञहरूलाई समेटेर सचिवालय सल्लाहकार टिम गठन गर्नु नौलो तथा रचनात्मक कार्य रहेको जनप्रतिनिधि बताउँछन् । वडाले विकास निर्माण सँगै सबै जनतासँग जोडिने गरी थालेका प्रयासले जनताका समस्या सम्बोधनमा थप टेवा पुग्ने अपेक्षा लिइएको छ । धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले वडा नम्बर १२ को यो एकदमै नौलो र उपलब्धि देखिने काम रहेको बताए । वडा नम्बर १२ ले जनतासँग जोडिने गरी नौले कार्यक्रम ल्याएको छ यो एकदमै राम्रो हो उनले भने “यसले विकास निर्माणमा जनताको सहभागिता पनि बढाउँछ, र जनता र जनप्रतिनिधि सँगै रहेर विकास गर्न सहज हुने छ ।”
धनगढी उपमहानगरपालिकाले थालेको हाम्रो धनगढी हामी बनाउ अभियानलाई समेत यो टिमले सहयोग पुग्ने अपेक्षा लिइएको छ। अग्रजहरूको सल्लाहले जनप्रतिनिधिको काम गर्ने गति झन बढ्ने धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले बताइन् ।
धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा स्ट्रिट लाइट जडान देखी हरेक सडकमा वृक्षारोपण गरी हरियाली धनगढी अभियानलाई सार्थकता दिइरहेका बेला वडा नम्बर १२ बाट यस्ता कृयाकलापलाई थप टेवा पुग्ने खालका कार्य शुरु हुनु सुखद हो उनले भनिन् “हामीले वडा स्वास्थ्य क्लिनिक, क्यान्सु शिविर, सरसफाई अभियान, हरियाली अभियान लगायत धनगढी बनाउन थुप्रै अभियान थालेका छौँ, यसले धनगढीको विकासमा निकै टेवा पुगेको छ, धनगढी १२ ले थालेको यो अभियानले समग्र वडा र धनगढीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”
वडा विषेश कार्यक्रमको अवसरमा १२ नम्बर वडामा स्थाई घर भएका अन्तराष्ट्रिय फुटबल खेलाडी चन्द्र भण्डारी र रोजिता बिष्टलाई नगद ५/५ हजार प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै वडामा रहेका बिभिन्न राष्ट्रिय खेलाडीहरूलाई नगद ३/३ हजार प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएको मनकामना युवा क्लवलाइ पनि सम्मान गरिएको थियो भने, दुई वटा विद्यालयलाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै वडामा रहेका सामुदायिक विद्यालयहरूमा स्वयंसेवक खेल शिक्षकका रुपमा हेमकर्ण रञ्जितकार सहित ४ जनालाई नियुक्त समेत गरिएको छ।