कैलालीको गोदावरी नगरपालिकाले बैशाख सम्म झन्डै १० करोड राजस्व संकलन

अत्तरिया- गोदावरी नगरपालिकाले चालू आर्थिक वर्षको बैशाख सम्म ९ करोड ७२ लाख ८७ हजार राजस्व संकलन गरेको छ । आन्तरिक तर्फ विभिन्न शीर्षकमा उक्त रकम संकलन गरेको हो । नगरपालिकाको राजस्व शाखाले दिएको जानकारी अनुसार नदि जन्य पदार्थबाट ४ करोड ९१ लाख ७१ हजार चार सय बढी राजस्व संकलन गरेको छ।

नदि जन्य पदार्थबाट ७ करोड राजस्व संकलन गर्ने नगरपालिका को लक्ष्य रहेको थियो । यस्तै भूमिकर मालपोतमा ७४ लाख ५ हजार ६ सय ३५ राजस्व संकलन भएको छ ।  अन्य करमा ७८ लाख २२ हजार ५ सय ९१, बहाल कर ३२ लाख ५५ हजार ४ सय ६०, सिफारिस दस्तुरमा ३० लाख ८५ हजार १८ राजस्व संकलन भएको छ ।

पार्किङ शुल्क वापत ७० लाख राजस्व संकलन भएको छ । यस्तै ब्यबसाय कर तर्फ २७ लाख ८४ हजार २ सय ४५ राजस्व संकलन भएको छ ।  नगरपालिका ले चालू आर्थिक वर्षमा आन्तरिक आय तर्फ १२ करोड २९ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

Loading...