पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर- कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खेतीपातीमा जुटेका छन् ।हिउँदे बालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन्। लिसवेली गाउँका सबै किसान अन्न बाली भन्दा सागसब्जीको अधिक खेती गर्छन् ।

गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँ लगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले बताए ।

उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् । ‘खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ, उनले भने । यहाँका किसान वर्षातको दुई महिना बाहेक अन्य समयमा तरकारी खेती गर्छन ।

खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताए । किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन्। किसानले वर्षाको पानी सङ्कलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उनले बताए ।

Loading...