धनगढी- कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी सुक देवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्छन् । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सुक देवीले एक महिनादेखि मकै पोलेर बेच्न थालेकी हुन् ।
दैनिक मजदुरी गर्दा हुने भन्दा राम्रो कमाइ मकै बेचेर हुन थालेपछि उनले मकै पोल्न थालेकी हुन। “दिनभर मजदुरी गर्दा छ सय कमाइ हुन्थ्यो भने मकै बेचेर दिनको एक हजारसम्म गरेको छु”, उनले भनीन्, “काम नगरे घरको गुजारा हुँदैन। अरुको काम गर्नुभन्दा आफ्नै काम गर्नुमा सन्तुष्टि छ।”
सोही शिविरमा बस्ने जितरानी चौधरी पनि हिजोआज मकै पोलेर बेच्ने काममा व्यस्त छन् । १४ रुपैयाँमा मकै खरिद गरेर २५ रुपैयाँमा उनले बिक्री गर्छन । हाटबजारका दिन हाटबजारमा र अरु दिन बजारको चौराहमा पोलेको मकै बेचेर उनले छोराछोरीका लागि किताब कापी र पोशाक किनेको बताइन् । “मकै बेचेर दिनमा पाँच सयदेखि एक हजारसम्म बचत गरेकी छु । त्यसबाट केही रकम घर खर्चका लागि छुट्याउनुपर्छ”, उनले भनीन्, “बालबालिकाको पढाइ खर्च पनि मकैबाट हुने आम्दानीले धानेकी छु । मकै बेचेर घरको जोहो चलाउन सकिने स्थिति बनेको छ ।” सुकदेवी र जितरानी मात्रै होइनन्। सुकुम्बासी शिविरका अन्य केही महिला पनि दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन् । रासस