बैतडी- बैतडी र बझाङमा डढेलोमा परेर ३ महिला घाइते भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका– १ का ४६ वर्षीया धोली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन् ।

बैतडीको दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटी रहेका महिला जङ्गलबाट आएको डढेलोमा परि घाइते भएका हुन् । अवस्था भने मध्यम रहेकोमा उनीहरूको जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको बैतडी प्रहरीले जनाएको छ ।
त्यस्तै बझाङमा पनि आगोमा परेर एक महिला घाइते भएकी छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–६ की ४६ वर्षीया बेलमती देवी धामी जलेर घाइते भएकी हुन् । बित्थडचिर गाउँपालिका–६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो ।
खरमा सल्किएको आगो नियन्त्रणमा लिने क्रममा उनको दुबै हात र खुट्टा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ । अहिले घाइते धामीको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।