धनगढी- कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भए सँगै चिन्ताका दिन सुरु भएको बताइन् ।शिविरमा बस्दै आएकी शारदालाई शिविरमा सुकेका ठूला रूख कतिबेला घरको छाना माथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्ष देखि पिरोल्दै आएको छ । वर्षौँ देखि सुकेका रूख कतिबेला भुइँमा खस्छन् भन्ने ठेगान हुँदैन । गर्मी मौसममा हुने आगलागीको जोखिम पनि सुकुम्बासी बस्तीमा उत्तिकै रहेको उनी बताउँछन् ।
“गर्मी मौसममा हावाहुरीले रूख ढल्दा ज्यान गएका घटना आँखा अगाडि ताजै छन्, त्यो घटना बाट बर्सेनि त्रासमा जीवन बिताउनु पर्ने बाध्यता हाम्रा अगाडि छ”, उनले भनिन्, “गर्मी मौसम सुरु भए देखि वर्षायाम नसकिँदा सम्म हाम्रा दुःखका दिन समाप्त हुँदैनन् ।” वर्षौं देखि पुनःस्थापनको पर्खाइमा बसेकी शारदा जस्ता सयौँ परिवार आज पनि त्यसैको पर्खाइमा रहेका छन् । टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्बासी आज पनि आफूहरूको पुनःस्थापन हुन्छ भन्ने आशामा छन् ।
अहिले शिविरको बस्तीमा सुकेका रूख ठिङ्ग्रिङ ठडिएका छन् । शिविरमा हरिया रूख नभए पनि सुकेका रूख कति बेला ढल्ने हुन भन्ने पत्तो हुँदैन । कतैबाट आगोको झिल्को शिविरमा पर्ने बित्तिकै सबै खरानी हुने स्थिति छ। गर्मी मौसम आउने हावाहुरीले त्यसरी सुकेका रूख ढल्ने र घरमुनि खसेर यस भन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ । “हावाहुरी आउँदा घर बाहिर भाग्नु पर्ने स्थिति छ, दिनमा घर बाहिर भागे पनि रातिको समयमा कता भाग्ने ?”, विन्दु भन्छन्, “अन्त कतै जाऊ भने जाने ठाउँ छैन, यतै बस्दा ज्यान जोगाउन मुस्किल छ, आजभोलि त हावाहुरी भन्दा आगलागीको त्रास बढी हुने गरेको छ ।” सरकारले आफूहरूको व्यवस्थापनका लागि ध्यान नदिँदा पीडामा जीवन बिताउनु पर्ने बाध्यता आफ्ना अगाडि रहेको उनको बुझाइ छ ।
एकतापुर शिविरमा बसोबास गर्दै आएका रामेश्वर चौधरीका अगाडि २०७६ मा हावाहुरीका कारण रूख घर माथि ढल्दा एक जनाको ज्यान गयो । रातिको समयमा आएको हावाहुरीले लाखौँको धनमाल नष्ट गर्यो । आँखा अगाडि भएको त्यो घटना रामेश्वरका लागि ताजै लाग्छ । ज्यानलाई हत्केलामा राखेर मृत्यु सँग लडेर बाध्यताको बसाइँ बस्नु परेको उनको भनाइ छ । “सुनाउन धेरै थियो, सुनिदिने हाम्रो कोही छैन, हामी सुकुम्बासीलाई अझै सुकुम्बासी बनाउन कैयौँ लागिपरेका छन्”, उनले दुखेसो पोख्दै भने, “प्राकृतिक विपत्तिले दिने दुःख मात्रै होइन, मानिसहरूले गर्ने व्यवहारबाट पनि हामी निकै प्रताडित छौँ ।”
माटो र काँचो इँटा प्रयोग भएका घरका लागि हावाहुरी तथा आगलागीमा मात्रै नभई वर्षातको बाढी र डुबान पनि अर्को दुःख बनेर बसेको छ । वर्षौं देखि जग्गा पाउने आशामा बसेका सुकुम्बासीले राष्ट्रिय भूमि आयोगको फाराम पनि भरेका छन् । फाराम भरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरेका उनीहरुले जग्गाको निस्सा समेत प्राप्त गरिसकेका छन् । उनीहरुले बसोबास गरिरहेको जग्गा पाउनु पर्ने माग पनि गर्दै आएका छन् ।
उक्त जग्गा क्याम्पसका नाममा भएका कारण सो बस्तीका नागरिकलाई सोही स्थानमा व्यवस्थापन गर्न चुनौती छ । नगरपालिकाको वडा नं १ ले वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकमा गर्नु पर्ने प्रक्रियाको काम गरिसकेको वडाध्यक्ष मोहन विकले बताए । रासस