माघ ८ गते अत्तरियामा भएको नेपाल आइडलको अडिसनमा गोल्डेन माइक पाएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका –५ गुलरियाकी प्रेरणा विश्वकर्मा टप टेनमा पुगेकी छिन । उनी टप १२ बाट भोटिङको आधारमा टप टेनमा पुगेकी हुन ।
सामान्य परिवारमा हुर्किएकी प्रेरणाले उत्कृष्ट गायन प्रतिभाबाट जजहरूलाई प्रभावित पारेर सुरुमै गोल्डेन माइक पाएकी थिइन् । नेपाल आइडल चुम्ने सपना बोकेकी उनी हाल काठमाण्डौंमा सङ्घर्षरत छिन । तर, भोटिङ राउन्ड सुरु भएकाले पब्लिकको साथ आवश्यक रहेको भन्दै उनले भोटिङको लागि अपिल गरेकी छिन् ।

उनलाई जिताउन हाल ‘सुदूरपश्चिमकी छोरी हाम्रो मान, हाम्रो गौरव हाम्रो सान’ अभियान पनि सञ्चालन गरिएको छ । भोटिङको समय शनिवार राती १० बजे बाट सुरु भएर सोमबार दिउँसो १२ बजे सम्म रहने जनाइएको छ ।
प्रेरणाका बुवा दीपक विश्वकर्माले छोरी टप १० मा पुग्नु सुदूरपश्चिमकै गौरवको विषय भएको बताए । उनले सानै देखि छोरीको सङ्गीतमा रुचि भए पनि आर्थिक अभावका कारण सांगीतिक यात्रा अगाडि बढाउन नसकेकोमा नेपाल आइडलले बाटो खोलिदिएको बताए । उनले छोरीलाई सबैले सहयोग गरेर जिताइ दिन आग्रह गरेका छन् ।
