डोटी- डोटी स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका नर बहादुर तामाङ भेटिएका छैनन् । सोमबार सडक किनारमा कार रोकेर सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका ४० वर्षीय तामाङको खोजी तीव्र पारिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले खोजी कार्य तीव्र पारेको र खोजी जारी राखिएको बताए । शिखर नगरपालिका-८ लुवाखडी नजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने तामाङ सोमबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनी सु.प.प्र. ०१ ००१ ज.१५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछाम तर्फ जाँदै थिए । सोही क्रममा उनी कार सडक किनारमा रोकी नुहाउन गएका थिए । नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन् । सो सम्बन्धमा थप अनुसन्धान र खोजी भैरहेको प्रहरीले जनाएको छ ।