मन्दिरको सुन चोरीको आरोपमा ५ जना पक्राउ

बैतडी, ९ साउन- बैतडीको मन्दिरमा सुन चोरी भएको ६ महिनापछि सुन चोरी कार्यमा संलग्न भएका ५ जना व्यक्तिहरु पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका वडा नं. १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन गत पौषमा चोरी भएको भएपनि ढिलो गरी प्रहरीमा उजुरी आएको हो ।

मन्दिरको सुन चोरेको सम्बन्धमा गत चैतमा मन्दिरका पूजारी नैनराम सार्कीले थाहा पाएपछि सुन चोरी कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शुरुमा स्थानीयस्तरमै सुन चोरी कार्यमा संलग्नहरुलाई गाउँलेले खोजी गरेका र असार अन्तिम साता प्रहरीलाई खबर गरेपछि ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। शुरुमा दुईजनालाई नियन्त्रणमा लिएको र त्यसपछि उनीहरुको बयानका आधारमा थप तीन जनालाई नियन्त्रणमा लिएको शाहीले बताए ।

प्रहरीले पक्राउ गरेकाहरुबाट पौने चारतोला सुन समेत बरामद गरेको छ । शुरुमा स्थानीयहरुले दिएको निवेदनका आधारमा दोगडाकेदार गाउँपालिका वडा नं. १ रीमका २० बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको बयानका आधारमा सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्कीलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए ।

त्यसैगरी मन्दिरको सुन चोरेर विक्रि गरेको र उनीहरुबाट सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको सुन चोरी कार्यमा संलग्नहरुमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धानको प्रकृयामै रहेकोले यस कार्यमा अरु पनि संलग्न हुन सक्ने प्रहरीले जनाएको छ ।

Loading...