काठमाडौं- हिजोबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्ती खगेन्द्र र रुद्रकलीलाई कतार लैजाँदै भनेर भावुक गीत, धुन र ‘क्याप्सन’ लेखिएका ती भिडियो तपाईंले पनि देख्नु भएको होला । भाइरल भिडियोमा भावुक बनेका नेपालीहरुले भावुक कमेन्ट गर्दै सरकारको बिरोध पनि गरेका छन् । तर, उक्त भिडियो नेपालकै हो त ? होइन, मार्च २८ अर्थात गत चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले उक्त भिडियो पहिलोपटक हालेको देखिन्छ । भिडियोमा देखाइएका ती तालिमप्राप्त हात्तीलाई ट्रकमा अन्य स्थानमा लगेको देखिन्छ ।
तर, नेपाली होनि ! एउटाले केही भनेपछि कुनै तथ्य जाँच नगरी सबै त्यसकोपछि दौडिन्छन् । कतारलाई उपहार स्वरुप पठाउने भनिएको दुईवटा हात्तीलाई कतै पठाइएकै छैन । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती हात्ती गएका छैनन् । ती खगेन्द्र र रुद्रकली नामका हात्ती निकुञ्ज भित्रनै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताए ।