धनगढी- कैलालीको धनगढीमा नगर प्रहरीलाई उपमहानगरपालिकाले सशक्त बनाउँदै लगेको छ । उपमहानगरले नगरवासीको सुरक्षा र विपदका समयमा गर्नुपर्ने उद्धार लगायत विषयमा आवश्यक तालिम दिन थालेको छ । उपमहानगरपालिकाले नगर प्रहरीलाई भत्केका संरचनामा गरिने खोज तथा उद्धार सम्बन्धी र भवनमा हुने क्षतिको लेखाजोखा सम्बन्धी तालिम समेत दिइरहेको छ । यस प्रकारको तालिम अहिले जारी छ । यस अघि नगर प्रहरीलाई सर्प समात्ने तालिम पनि प्रदान गरिएको थियो ।
तालिम पछि दक्ष बनेका नगर प्रहरीले झण्डै चार सयको संख्यामा घर भित्र पसेका सर्प समातेर उद्धार गरेको थियो । त्यस्तै आगलागीबाट बच्न र त्यसका लागि अपनाउनु पर्ने सुरक्षा लगायत विषयमा पनि नगर प्रहरीलाई तालिम प्रदान गरिएको छ । नगर प्रहरीलाई आवश्यक स्रोतसाधन समेत उपलब्ध गराएर नगरवासीको सुरक्षा र उद्धारमा खटाउने काम भइरहेको छ ।

अवैध भौतिक संरचना खाली गर्ने देखि सडकमा अलपत्र फेला परेका व्यक्तिको उद्धारमा समेत नगर प्रहरीको भूमिका प्रभावकारी बन्दै गएको छ । नगर प्रहरीले नै धनगढीमा कसैको निधन भए उपमहानगरपालिकाको झण्डा ओडाएर मृतआत्माको सम्मान सहित श्रद्धाञ्जली दिने काम पनि गर्दै आएको छ ।
विपदको समयमा २४ सै घण्टा नगर प्रहरीलाइ तयारी अवस्थामा राखिएको छ। साथै उपमहानगरपालिकाले नगरवासीको सेवाका लागि फायर बाइक सेवा समेत यस अघि नै सञ्चालनमा ल्याइसकेको छ । विपद परेको बेला नगर प्रहरीले तत्काल उद्धार गर्न यस्तो सेवा सुरु गरिएको हो । उपमहानगर भित्रका १९ वडा भित्रै यस्तो सेवा प्रदान गर्ने काम भइरहेको छ ।
कहिँकतै आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि घटना भएको स्थानमा तत्काल पुग्न सजिलो होस भनेर उपमहानगरले फायर बाइक सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि हाल उपमहानगरपालिकाले दुई वटा फायर बायक तयारी अवस्थामा राखेको छ ।
आगलागी भएको खबर पाउने बित्तिकै यो बाइक जान्छ, दमकल भन्दा यो छिटो हुने उपमहानगरपालिकाले जनाएको छ । तत्काल बचाउनु पर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ । आगलागी तथा विपदजन्य जोखिमका बेला फायर बाइक दमकल उपयोगी मानिएको छ । युएनडीपी र उपमहानगरपालिकाको सामान ५०/५० प्रतिशत लगानीमा यस्तो सेवा सञ्चालनमा ल्याइएको हो ।