अत्तरिया- सुदूरपश्चिम मुख्यमन्त्री नियुक्तिमा ढिलाइ हुन थालेपछि कांग्रेसले दबाब दिने भएको छ । आज (सोमबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्तिको बारेमा प्रदेश प्रमुख नजिर मियाँसँग समन्वय गर्न जिम्मेवारी तोकेको हो ।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रदेश प्रमुख मियाँ सँग वार्ता गर्न काम चलाउ मुख्यमन्त्री एवं दलका नेता कमल बहादुर शाह र प्रमुख सचेतक विक्रम सिंह धामीलाई जिम्मेवारी दिइएको हो ।
आइतबार मात्रै कांग्रेस, नाउपा (रेशम), समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको छ । अर्कोतिर, एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपा (रञ्जिता) को समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् ।
फरक–फरक दलको समर्थनमा एकै दलबाट मुख्यमन्त्रीमा दोहोरो दाबी परेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको हो ।