अत्तरिया- आइतबार कांग्रेस, नाउपा (रेशम), समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको थियो । अर्कोतिर, एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपा (रञ्जिता) को समर्थनमा नाउपाकै कैलाश चौधरीलाई मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ ।
फरक–फरक दलको समर्थनमा एक दलबाट मुख्यमन्त्री दोहोरो दावी परेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको भइरहेको छ । ५३ सदस्यीय सुदूरपश्चिममा बहुमतको लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ६ र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै, राप्रपाका एकजना र एकजना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्रीमा दावी गर्ने नागरिक उन्मुक्ति पार्टीका दुवैजनाले आफ्नो पार्टीका ६ जनाको समर्थन रहेको बताएका छन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँ भौतिक उपस्थिति गराएर सांसदको सनाखत गर्ने तयारी गरिरहेका छन् । नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल सँगै केन्द्रको सत्ता गठबन्धनमा पनि खटपट ल्याएको छ । दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हिजो नै प्रदेश प्रमुखको कार्यालय पुगेर पार्टीको आधिकारिक उम्मेदवार कैलाश चौधरी भएको बताएकी थिइन्।
यता पूर्व सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले सत्ता गठबन्धनमा बिद्रोह गरेको हो । त्यो बिद्रोहले सत्ता गठबन्धन धरापमा परेको देखिएको छ ।
