
कैलाली- बालगृहमा रहेका अनाथ बालबालिकाको संरक्षणको लागि कैलालीमा ‘१० रुपैयाँ मेरो योगदान अभियान’ सञ्चालन गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको मानव सेवा बालगृहमा रहेका अनाथ बालबालिकाको लत्ता कपडा, खाद्यान्न र पढाइको लागि शुक्रवार देखि अभियान सञ्चालन गरिएको बाल गृहका अध्यक्ष विनोद थापाले बताए ।





हाल मानव सेवा बालगृहमा १५ जना अभिभावक गुमाएका बेसहारा बालबालिका रहेका छन् । बालगृह प्रति स्थानीयको अपनत्वको भावनाका साथै सहयोग सङ्कलनको लागि ‘१० रुपैयाँ मेरो योगदान अभियान’ सञ्चालन गरिएको थापाले बताए । उनले भने, ‘बाल गृहमा अहिले १३ छोरा र दुई छोरी छन् । बालबालिकालाई आमाबुवा कै जसरी माया दिन गाह्रो हुँदो रहेछ ।’ सामाजिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो १८ औँ जन्मदिवसको अवसर पारी थापाले २०८० असोज २ गते बाल गृह सञ्चालन गरेको बताए ।




बालगृहका संस्थापक देवेन्द्र सन्यालले मानवताभन्दा ठूलो अर्को धर्म नरहेको उनले बताए। उनले भने, ‘मानता भन्दा अर्को धर्म छैन । भगवान्को स्वरूपमा हाम्रो समाजमा बालबालिकालाई लिइन्छ ।’ सामाजिक कार्य गर्दा आलोचना हुने भए पनि आफूले सेवा नै धर्मको रूपमा लिने गरेको सन्यालले बताए । सहयोगी हातको सहयोगले हाल बालगृह सञ्चालन भएका छन् । अहिले बाल गृहमा आवास र लत्ता कपडाको अभाव रहेको उनले बताए ।
लम्कीचुहा नगरपालिका–१ का वडा सदस्य सिद्धराज तिमिल्सेनाले मानवताको लागि बालगृहले आह्वान गरेको १० रुपैयाँ योगदान कार्यक्रममा सबै सहभागी हुन अनुरोध गरे । लम्की जेसिजका अध्यक्ष भरतराज खनालले बालगृहमा रहेका बालबालिकालाई कक्षा १० सम्म निःशुल्क पढाउन आफूले पहल गर्ने बताए ।