
टीकापुर- राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कैलालीको कटाक्षेमा निर्मित विद्युत गृह बाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले जानकी गाउँपालिका—९ स्थित कटासेमा निर्माण गरेको विद्युत गृह बाट उत्पादित ४.७१ मेगाबाट उत्पादन सुरु गरेको छ । पावर हाउसबाट माघ १७ गते उत्पादित विद्युत् लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।





पूर्वी कैलालीमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएको आयोजनाले पाँच वर्षदेखि विद्युत् उत्पादनको काम सुरु गरेको थियो । माघ महिनादेखि नियमित विद्युत उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिए पनि विद्युत प्राधिकरणसँग खरिद सम्झौता हुन नसकेको आयोजनाका इन्जिनियर वीरसिंह धामीले बताए ।




‘विद्युत उत्पादन पुसमा परीक्षण गरेर माघ महिनाबाटै नियमित भइरहेको छ’ विद्युत उत्पादनको जिम्मेवारीमा रहेका इन्जिनियर धामीले भने, ‘हाल सम्म पनि विद्युत खरिदबारे सम्झौता हुन नसकेपछि अन्योलमा रहेका छौं, यद्यपि विद्युत भने नियमित रूपमा उत्पादन भएर लम्कीबाट राष्ट्रिय प्रसारण ग्रिडमा जडान गरेका छौं ।’ कर्णाली नदीको चिसापानीबाट मुख्य इन्टेक मार्फत रानी जमरा कुलरिया सिँचाइ आयोजनामा बग्ने नहरबाट विद्युत उत्पादन हुने हुँदा एकनासको विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । पश्चिम नेपालमा लमहीयता कटाक्षेस्थित एकमात्रै पावर हाउस हो ।