निरासा सबै भन्दा ठुलो शत्रु हाे युवाहरूले निराशा विरुद्ध खुकुरीको धार बनेर स्पात बन्नु पर्ने : विप्लव


धनगढी- नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले निरासा सबै भन्दा ठुलो शत्रु भएको बताउँदै युवाहरूले निराशा विरुद्ध खुकुरीको धार बनेर स्पात बन्नु पर्ने बताएका छन ।


शनिबार धनगढीको खुल्ला मञ्चमा आयोजित युवा संगठन नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले देशलाई सैन्य अखडा बनाउने अमेरिकी सपना पूरा हुन नदिने समेत चेतावनी दिए । एमसीसी मार्फत नेपाल पसेको अमेरिकाले एमसिए मार्फत नेपालमा सैन्य अखडा बनाउने सपना नेपाल कम्युनिष्ट पार्टी रहुन्जेल पूरा हुन नदिने उनको तर्क छ।


उनले इष्ट्रइन्डिया कम्पनीमार्फत व्यापार गर्ने उद्देश्य बोकेर आएको अंग्रेजले भारतमा लामो समय शासन गरेको बताउँदै देशको राष्ट्रियता र स्वाधीनतामा कसैले आँच पुर्याउने दुस्साहस गरे ३ करोड जनताले हतियार उठाउन बाध्य हुने र त्यसको नेतृत्व नेकपाले गर्ने बताए । हामीलाई हतियार उठाउने आरोप लागेको छ । तर हामी गर्वका साथ भन्छौँ, राष्ट्रियताका सवालमा हामी लुकेर नभई खुल्ला रुपमा जनताका साथ हतियार उठाएर देशको रक्षा गर्नेछौँ । देशको स्वाधीनताको लागि नेपाली युवाहरूले ज्यान दिन पनि तयार हुनु पर्छ, उनले भने ।

जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र हुन नसकेको बताउँदै महासचिव विप्लवले जनताले दुःख पाएको बताए । उनले व्यवस्था नफेरी व्यवस्था नफेरिने बताउँदै खोट व्यवस्थामै भएकाले व्यवस्था फेर्नुपर्ने बताए । उनले सबैले समाजवादको कुरा गरिरहेको अवस्थामा व्यवस्था ठीक छ अवस्था बदल्नु पर्छ भन्ने रवि लामिछानेले पनि समाजवादको कुरा उठाउन थालेको बताए ।
हामी सहिद परिवारसँगै रोएका छौँ, सुकुम्बासीको अगेनामा बसेर उनीहरूका दुःख नजिकबाट देखेका छौँ, सहिदसँगै लड्दालड्दै ज्यान गुमाएको देखेका छौँ त्यसैले हामी परिवर्तनको पक्षमा छौँ, देशको पक्षमा छौँ, राष्ट्रियताको पक्षमा छौँ उनले भने ।
महासचिव विप्लवले नेपाल प्रश्नैप्रश्नको घेरामा उभिएको बताउँदै कोही खुसी नभएको बताए । कैलाली जिल्ला देशको आमूल परिवर्तनका लागि ज्यान गुमाउने सहिदहरू जन्माउने जिल्ला भएको बताउँदै उनले जनयुद्धमा भागेका भगौडाहरुले तर्साउदैमा कोही नडराउने बताए । जनताका बैरीहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउदै उनले समाजवादी मोर्चाको गठनले उनीहरूको निद हराम भएको बताए । समाजवादी कम्युनिष्टहरूलाई एक हुन नदिन एक अर्काको कुरा काट्दै हिडेको बताए ।
’हामीलाई प्रचण्डसँग लागेर नबिग्रन भन्दैछन्, प्रचण्डलाई हामीसँग नलाग्न भन्दैछन्, हामीलाई टुक्र्याउने र कमजोर बनाउने षड्यन्त्र हुँदैछ, हामी सबै कम्युनिष्टहरू मात्र नभई देशभक्तहरू एकजुट हुन जरुरी छ।’ उनले भने । महासचिव विप्लवले महासचिव विप्लवले २ सय ५० वर्ष शासन चलाई सकेको राजतन्त्र फर्केर नआउने बताउँदै व्यवस्था परिवर्तनका लागी संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्न सकिने बताए । उनले एक पटक नेकपालाई मौका दिनु पर्ने बताउँदै किनेर पाउने भोटको औचित्य नभएको बताए । युवा संगठन नेपालको पाचौँ राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक पाटन जंगली सीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सामना परिवारका कलाकारहरूले जनवादी गीत संगीत मार्फत उर्जा थप्ने काम गरेका थिए भने विभिन्न झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।